मधेश सरकारको खर्च साढे ३ प्रतिशत मात्रै

लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भए पनि दुई मन्त्रीलाई बिभागीय जिम्मेवारी दिइएकाे छैन ।

कार्तिक १७, २०८२

अजित तिवारी

Madhesh government's expenditure is only 3.5 percent

जनकपुर — मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३.५ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

जेन–जी आन्दोलन, प्रदेश सरकार परिवर्तन र मन्त्रालयको खाता सञ्चालनमा ढिलाइ हुँदा मधेश प्रदेशमा बजेटको खर्च खुम्चिएको हो ।

मधेश प्रदेशमा पहिलो त्रैमासिकमा चालु तर्फको ७.६८ प्रतिशत र पूँजीगत १.१८ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय जनकपुरका अनुसार मधेश प्रदेश सरकारले पहिलो त्रैमासिकमा १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ मात्र खर्च गरेको छ । जसमा चालु तर्फ १ अर्ब २८ करोड ४२ लाख र पूँजीगत खर्च ३३ करोड ८५ लाख रुपैयाँ पुगेको प्रदेश लेखा नियन्त्रक मनोज कुमार झाले जानकारी दिए । 

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

जेन–जी आन्दोलनपछि जनमत पार्टीको नेतृत्वमा रहेको मधेश प्रदेश सरकार फेरिएर लोसपाका जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री साेनलले दुई मन्त्रीलाई बिभागीय जिम्मेवारी दिएका छैनन् । अन्य मन्त्री पनि नथपिएकाले मन्त्रालयको बजेट खर्च प्रभावित बनेको एक मन्त्रालयका सचिवले बताए । 

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully