बेमौसममा परेको निरन्तरको झरीले भित्र्याउन ठिक्क परेको धान खेतमै डुबेपछि किसान घाटा ब्यहाेर्नु पर्ने चिन्तामा छन् ।
महोत्तरी — महोत्तरीको बर्दिबास–१२ का अवदकिशोर महतोले जमिन भाडामा लिएर गरेको खेतीबाट ११ जनाको परिवार धानेका छन् ।
वार्षिक ७५ हजार रुपैयाँ तिरेर भाडामा लिएको २ विघा खेतमा रोपेकाे धान भित्र्याउन बाँकी छ । ‘पानी नपरेपछि एक महिना ढिलो राेपेकाे थिएँ । भित्र्याउने अन्तिम तयारी गर्दागर्दै पानीले बर्बाद गर्यो,’ उनले भने, ‘दुख गरेर उब्जाएको धान पानीले बर्बाद बनायो ।’
धान काटेर सुकाउन राखेका बेला पानी पर्न थालेपछि खेतभन्दा केही पर खाली ठाउँमा त्रिपाल र बोराले छोपेर भिजेको धान जम्मा गरेका छन् । केही अग्लो स्थान धान राखेको ठाउँमा पनि वर्षाको पानी भरिएको छ । धान थुपारेकै वरपर पनि पानी जमेर पोखरी जस्तै बनिसक्दा उनलाई धान जोगाउन सकस परेको छ । एकैपटक काटेको झण्डै १ विघा जग्गाको धान अब खेतमै उम्रिने चिन्ता छ । ‘तीन दिनदेखि निन्द्रा परेको छैन, भएको सबै धान कुहिने डर छ,’ उनले भने । वर्षेनी २ सय क्विन्टल धान उत्पादन गर्दै आएका महतोले यसवर्ष खेत रोप्ने समयमा खडेरी परेपछि साउनमा रोपेका थिए । एकातर्फ ढिलो रोपेर धान कम फलेको चिन्ता अर्को तर्फ धान भित्र्याउने समय परेको पानीले धेरै समस्या भएको महतोले बताए ।
औरही नगरपालिका–१ की नैनीकुमारीले अधियाँ गरेको १० कठ्ठा खेतको धान काटेकै बेला पानी परेपछि खेतबाट उठाउन सकेकी छैनन् । उत्पादन हुने आधा धान बटैया बुझाएर आफ्नो भागमा परेकोले वर्षभरीको अन्न जोहो गर्ने उनी अहिले आकाश हेर्दै पानी रोकिने आशमा छिन् ।
मध्य बर्खाको समय मधेसमा परेको खडेरीले प्रदेशका विभिन्न ठाउँमा खानेपानी समेत दमकलबाट वितरण गरेकाे थियाे । पानी पर्ने बेला मनसुन निष्क्रिय हुँदा मध्य बर्खामा मधेसलाई सरकारले सुक्खाग्रस्त क्षेत्र नै घोषणा गरेकाे थियाे । असारको अन्तिमसम्म रोपाइँ सकिने तराईमा असार बितिसक्दा समेत किसानले धान रोप्नै सकेका थिएनन् । धान रोप्ने बेला खडेरीले दुख पाएका किसानले धान थन्क्याउने बेला बेमौसमी वर्षाले दुख पाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गत असोज २४ गते सरदर भन्दा ८ दिन ढिलो गरी मौसम नेपालबाट बाहिरिएको थियो । मनसुन बाहिरिएको एक महिना नपुग्दै बर्खाको झल्को दिने गरी देशभर वर्षा भइरहेको छ ।
महोत्तरीमा मात्र यस वर्ष खडेरीका कारण धानखेती योग्य जमिनको करिब एक चौथाई खेतमा धान रोपिएको थिएन । कृषि ज्ञान केन्द्रका अनुसार महोत्तरीमा यसवर्ष ३० हजार १ सय ३७ हेक्टर जग्गामा मात्रै रोपाइँ भएको थियो । यो विगतका वर्षको तुलनामा एक चौथाई कम हो । यसवर्ष जिल्लाकाे धान खेती हुने क्षेत्रफलकाे ७५.३५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ भएको ज्ञान केन्द्र महोत्तरीका प्रमुख देवानन्द राय यादवले जानकारी दिए ।
झण्डै ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेको महोत्तरीमा लगभग ३४ हजार हेक्टरमा मात्रै सिँचाइ सुविधा छ । ३६ हजार हेक्टर जग्गामा आकासेपानीको भरमा पर्नुपर्ने बाध्यताका कारण धान रोप्ने समय पानी नपरेपछि रोपाइँ घटेको थियो । धान रोप्ने समय गत असार/साउनमा खडेरीले खानेपानीको समेत हाहाकार भएपछि सिँचाइ अभावमा किसानले समयमा धान रोप्न नपाएको ज्ञान केन्द्र प्रमुख यादवले बताए ।
४० वर्षदेखि खेतीकिसानी गरिरहेका अवदकिशोर पछिल्ला वर्ष रोप्ने बेलामा पानी नआउने र स्याहार्ने बेला पानी परेर बिगारिदिने भइरहेकाे सुनाउँछन् । एक क्विटलको ४ हजार रुपैयाँ हाराहारीले बिक्रि हुने धान पानी नरोकिए आफ्नै परिवारमै खान पनि नपुग्ने चिन्ता लाग्न थालेको महतोले बताए । ‘यसपाली कति धान भित्र्याउन पाइने हो थाहा छैन,’ उनले भने,‘केही काटेकै छैन, काटेको धान पानीबाट जोगाउन मुस्किल छ ।’
