शरीर अंगभंग मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका पासवानले दुई वर्ष कैद भुक्तान गरेका छन् भने लागूऔषध मुद्दामा ५ वर्ष ६ महिना सजाय पाएका खड्काले ९ महिना कैद भुक्तान गरेका हुन् ।
राजविराज — सप्तरी प्रहरीले जेन–जी आन्दोलनमा काठमाडौंको नख्खु र सुनसरीको झुम्का कारागारबाट भागेका दुई जना कैदीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामाका मनोज पासवान र सोही नगरपालिका वडा नम्बर ३ बरमझियाका विजय खड्का रहेका छन् ।
शरीर अंगभंग मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका पासवानले दुई वर्ष कैद भुक्तान गरेका छन् भने लागूऔषध मुद्दामा ५ वर्ष ६ महिना सजाय पाएका खड्काले ९ महिना कैद भुक्तान गरेका हुन् ।
भागेका कैदीबन्दीको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दुवै जनासँग सोधपुछ गर्दा जेन–जी आन्दोलनको क्रममा दुवै जना कारागारबाट भागेको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी डम्बरबहादुर पुरीले बताए ।
दुवै जनालाई कारबाहीको लागि कारागार कार्यालय सप्तरीमा पठाएको जनाइएको छ ।