दुई बालिकाको बिक्री हुनै लाग्दा उद्धार गरिएको छ भने १४ बालकलाई जोखिमयुक्त काममा लगाएको पाइएको छ ।
What you should know
जनकपुर — सप्तरीमा दुई बालक बसमार्फत जनकपुर पुगे । ७ र ९ वर्षका ती बालकलाई रेल चढाउने भनेर जनकपुर ल्याइएको थियो ।
‘बसबाट उत्रिएपछि सिधै रेल्वे स्टेसन लगेको थियो,’ ९ वर्षका ती बालकले भने, ‘रेलमा चढ्नेबित्तिकै गुडिहाल्यो । केही मेसो पाइएन ।’
भारतको मुम्बई, नयाँ दिल्ली र विहारका विभिन्न जिल्लाबाट उद्धार गरिएका १६ बालबालिकालाई बिहीबार परिवारको जिम्मा लगाइएको छ । विभिन्न समयमा मधेश प्रदेशको नाका हुँदै भारत लगिएका १४ बालक र २ बालिकालाई उद्धार गरेर बुधबार जनकपुर ल्याइएको थियो । उद्धार गरिएका बालबालिका ७ देखि १४ वर्ष उमेर समूहका छन् । उनीहरु धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटका हुन् । दुई बालिकालाई भने यौनजन्य क्रियाकलापका लागि बेच्न लागेकै समयमा उद्धार गरिएको किन इन्डियाका नवीन जोशीले बताए ।
‘ती दुवै बालिकामाथि पटक–पटक यौन शोषण काम भयो,’ मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयमा आयोजित कार्यक्रममा जोशीले भने, ‘बेच्न ठिक पारिएको अवस्थामा उद्धार गर्न सफल भयौंं । एउटी बच्चीको मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । उनलाई उपचारसँगै परामर्शको पनि आवश्यकता छ ।’ जोशीका अनुसार महिला र बालबालिका भारत लैजान मधेश प्रदेशको नाका प्रयोग भइरहेको छ ।
‘हाम्रो अध्ययनले धेरै महिला र बालबालिकालाई मधेशको नाकाबाट भारत लैजान गरिएको देखिएको छ,’ जोशीले भने, ‘पछिल्लो समय मधेश प्रदेशकै बालबालिकालाई भारत लगेर जोखिमपूर्ण काम लगाउने गरेको छ ।’
उनका अनुसार भारतमा किड्नी झिक्न, सेक्स वर्कर, कामदार, अर्केस्ट्रा र सर्कसमा नेपाली बालबालिकाको प्रयोग अधिक भइरहेको छ । भारतको नयाँदिल्लीमै बस्ने जोशीले पछिल्लो एकवर्षमा भारतस्थित नेपाली दूतावासको सहयोगमा १ हजार जनाको उद्धार गरिएको बताए । ‘नेपाली महिला र बालिकालाई सुरुमा फ्ल्याटमा राखेर ह्वाट्सएपमार्फत यौन धन्धामा लगाउने गरिएको छ,’ जोशीले भने, ‘ह्वाट्सएपमा तस्बिर पठाउने र एकपटकको ५ हजारदेखि ८ हजारसम्ममा डिल गरेर महिला र बालिका पुर्याउने गरिएको छ । पछि, उनीहरुलाई वेश्यालयमा बेच्ने गर्छन् ।’
भारतमा उद्धार गरिएका १६ जना बालबालिकालाई रोटरी क्लब रुपन्देही लुम्बिनीको सहयोगमा स्वदेश फर्काइएको हो । क्लबका अध्यक्ष परशुराम पराजुलीले प्रलोभन देखाएर भारत वा अन्य मुलुकमा लगिने बालबालिकाको संख्या उच्च रहेकाले उद्धार कार्य र स्वेदश फर्काउने अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले बालबालिकाको उद्धारमा सरकारको ठूलो सहयोग नपाइएको गुनासो गरे ।
मधेश सरकारको खेलकुद तथा समाजकल्याण मन्त्रालयका सचिव रञ्जितकुमार यादवले कानुन भए पनि कार्यान्वयन नहुँदा महिला, बालबालिकालाई विभिन्न प्रलोभनमा भारतमा लगेर बेच्ने र जोखिमपूर्ण काममा लगाउने क्रम बढेको बताए । ‘मधेश प्रदेशका बालबालिकाको उद्धार, घर फिर्ती र उनीहरुलाई आवश्यक पर्ने उपचार वा मनोपरामर्शका लागि प्रदेश सरकारले छुट्टै कोष स्थापना गर्नेछ,’ सचिव यादवले भने,‘महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्थासँग समन्वय गरेर प्रदेश सरकारले यो मामिलामा अगाडि बढ्नेछ ।’
बालबालिका खोजतलास कार्यालय जनकपुरका प्रमुख सञ्जीव महतोले गतवर्ष मधेश प्रदेशका ६१ जना बालबालिकालाई भारतबाट उद्धार गरेर परिवारको जिम्मा लगाइएको बताए । उनले त्यो अवधिमा नेपालमा नै हराएका करिब १ सय १५ बालबालिकालाई फेला पारेर अभिभावकको जिम्मा लगाइएको जानकारी दिए ।
