छठ पूजालाई सजाइए जलाशय

छठ पर्वका लागि वीरगन्जका घडीअर्वा, रानीघाट, नगवा, मूर्लीलगायतका घाट सिँगारिएका छन् ।

कार्तिक ९, २०८२

शंकर आचार्य

Reservoir decorated for Chhath Puja

What you should know

पर्सा — शनिबार ‘नहाखाय’ विधिबाट छठ पर्व सुरु गरेका व्रतालुले आइतबार ‘खरना’ विधि मनाएका छन् । ‘रस्याउ रोटी’ समेत भनिने यो विधिमा व्रतालुले आइतबार साँझ घरघरमा छठी माताको पूजा गरेर दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र पुरी खाएर मनाएका हुन् ।

व्रतालुले पकाउने रस्याउ रोटीलाई प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खान दिने चलन छ । आइतबार साँझ रस्याउ रोटी खाएपछि व्रतालुले सोमबार दिनभर निर्जल निराहार व्रत लिएर साँझ अस्ताउँदै गरेको सूर्य र मंगलबार बिहान उदाउँदो सूर्यको उपासनापछि प्रसाद खाएर मात्र व्रत तोड्नेछन् । 

‘सोमबार साँझ व्रतालु तथा तिनका परिवारका सबै सदस्य घरनजिकको पोखरी, नदी, सरोवर, जलाशयमा निर्मित छठी घाटमा पुग्छन्,’ वीरगन्ज तेजारथ टोलकी व्रतालु शुभद्रा मिश्रले भनिन्, ‘मंगलबार बिहान घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा सम्पन्न गरेपछि प्रसाद खाएर कठोर व्रत तोडिनेछ ।’Reservoir decorated for Chhath Puja

परिवारका सदस्यले व्रतालुको पूजा सामग्री राखिएको बाँसको छैंठी टाउकामा बोकेर घाटसम्म लाने चलन छ । विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन् । सोमबार साँझ छठ घाटमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजा सामग्रीको अर्घ्य दिन्छन् । त्यसपछि उनीहरूले घाटमा घण्टौं बसेर पूजा अर्चना गर्नेछन् । 

केही व्रतालु राति घर फर्केर आँगनमा कोसी भर्ने विधि गर्छन् । माटोको हात्तीलाई पूजा गर्ने यस विधिले व्रतालुको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । घाटमै बसेका व्रतालुले भने रातभरि त्यहीं भजनकीर्तन गर्ने चलन छ । व्रतालुको घरघरमा आइतबार दिनभर पिठोको ठेकुवा पकाइएको छ । यस काममा व्रतालु तथा परिवारका सदस्य आइतबार दिनभर व्यस्त रहे ।Reservoir decorated for Chhath Puja

छठ पर्वका लागि वीरगन्जका घडीअर्वा, रानीघाट, नगवा, मूर्लीलगायतका घाट सिँगारिएका छन् । वीरगन्जको प्रसिद्ध घडीअर्वा घाटमा छठ पर्व लक्षित सबै तयारी पूरा भएको घडीअर्वा छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष राकेश साह कानुले यस वर्ष करिब २६ लाख ७ हजार रुपैयाँ आम्दानी र २३ लाख ८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

समितिका सचिव सन्तोषकुमार साहले घाटको सुरक्षा व्यवस्थामा कुनै पनि सम्झौता नगरिएको बताए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको समन्वय गरी घाटको सुरक्षा व्यवस्था कडा पारिएको बताए । पूजाको मुख्य दिन सोमबार यो घाटमा करिब १० हजार व्रतालु र दुई लाखभन्दा बढी भक्तजन आउने अनुमान छ । Reservoir decorated for Chhath Puja

पर्वकै लागि संघीय राजधानी काठमाडौंबाट वीरगन्ज आइपुगेका रेशमकोठी निवासी धीरज भण्डारी छठ पर्वले सिंगो तराई–मधेशमा हर्षोल्लास ल्याउने गरेको बताउँछन् । ‘रोजगारी वा अध्ययनका लागि टाढाटाढा पुगेकाहरू प्रायः यस पर्वमा घर फर्कने गर्छन्,’ उनी भन्छन् । छठ व्रत लिनेको घरमा सुख, शान्ति र समृद्धिको आगमनका साथै सन्तान प्राप्ति र चर्म रोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully