आजदेखि विधिवत् रूपमा छठ सुरु

संघ सरकारले छठ पर्वको मुख्य दिन सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ भने मधेस प्रदेश सरकारले मंगलबार समेत प्रदेशभर बिदा दिएको छ।

कार्तिक ८, २०८२

कमलेश ठाकुर

Chhath begins formally from today

जनकपुरधाम — आजदेखि चार दिनसम्म मनाइने महापर्व छठ विधिवत् रूपमा सुरु भएको छ। छठको पहिलो दिनलाई ‘नहाय–खाए’ भनिन्छ। आज व्रतालुहरूले बिहान स्नान गरी शुद्ध भान्सामा खाना खाने परम्परा छ।

भोलि आइतबार दोस्रो दिन दिनभरि उपवास बस्दै साँझपख ‘खरना’ विधि गरिन्छ। यस क्रममा दूध, चामल र गुडबाट तयार गरिएको खीर देउतालाई चढाइएपछि व्रतालुहरूले ग्रहण गर्छन्।

छठको तेस्रो दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइने मुख्य पूजा गरिन्छ। अर्घका लागि ठेकुवा, भुसवा, केराको घरी, माटोका हाँडी, सूप, कलश र अन्य कृषिजन्य अन्नका पकवानहरू सूर्यदेवलाई अर्पण गरिन्छ।

पर्वको अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी छठको समापन गरिन्छ।

छठ पर्वको अवसरमा संघ सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ भने मधेस प्रदेश सरकारले त्यसको भोलिपल्ट मंगलबार प्रदेशभर बिदा दिएको छ।

जनकपुरधामका पोखरी तथा जलाशयहरू सिँगारिएका छन्। स्थानीय बासिन्दा, श्रद्धालु र समितिहरूले पण्डाल र झिलिमिली विद्युत् सजावट गरेर छठको तयारी पूरा गरेका छन्।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully