मधेसमा छठको तयारी

सिंगो तराई–मधेसमा अहिले छठ पर्वको तयारी गर्न भ्याइनभ्याइ छ ।

कार्तिक ५, २०८२

शंकर आचार्य

Preparations for Chhath in Madhesh

What you should know

पर्सा — दसैँ र लक्ष्मीपूजापछि सिंगो तराई मधेस छठ पर्वको तयारीमा होमिन्छ । दुर्गा र लक्ष्मी माताको पूजनपछि छठी माताको पूजा निष्ठा र आस्थाका साथ गर्छ तराई मधेसको अधिकांश परिवारले । त्यस कारण पनि छठ तराईको प्रमुख र महान् पर्वको रूपमा स्थापित भएको छ ।  

यहाँका छठ घाटहरूको सजावटको काम सुरु भइसकेको छ । वीरगन्जका घडिअर्वा, मुर्लि, रानिघाट, नगवा आदि छठ घाटहरू तुलनात्मक रूपमा अन्य घाटभन्दा बढी भव्य र आकर्षक हुने गर्छन् । यो पर्व मान्न थातथलोमा फर्कनेहरूको संख्या दैनिक बाक्लिँदै छ । रोजगारी तथा अध्ययन आदि प्रयोजनले घर तथा देश बाहिर रहेकाहरूसमेत धमाधम घर फर्किँदैछन् ।

वीरगन्जको बजारमा छठ पर्वको पूजा सामग्री र नयाँ लत्ताकपडा किनमेल गर्नेहरूको बाक्लो भीडभाड छ । यो पर्वले वर्षमा एक पटक भएपनि तराई मधेसका बजारहरूमा चहलपहल बढाउँछ ।

वीरगन्ज अशोवाटिका निवासी शिक्षक शशिभूषण साह छठ पर्वले तराई मधेसमा सामाजिकीकरण र पारिवारिक एकता पनि बढाउने बताउँछन् । ‘रोजगारी तथा अन्य प्रयोजनले लामो समय घर बाहिर रहेकाहरू घर फर्किएपछि घर परिवार र समाजमा स्वाभाविक रूपमा भेटघाट र आत्मीयताको माहोल बन्छ,’ उनले भने, ‘अर्को तिर यसले चहलपहल र आर्थिक गतिविधि समेत बढाउ“छ ।’

सामाजिक अभियन्ता प्रकाश थारु यो पर्वले सामाजिक एकता र सद्भाव पनि बढाउने बताउँछन् । ‘टोलटोलमा स्थानीयहरू मिलेर घाट बनाउने र सजाउने काम गरिन्छ,’ उनले भने, ‘यसले स्थानीयलाई सामाजिक प्राणी बनाउन भूमिका खेली रहेको हुन्छ ।’ यो पर्वमा उदाउँदो मात्र नभई अस्ताउँदो सूर्यको पनि उपासना गरिने भएकाले शक्तिलाई बलियो अवस्थामा मात्र नभई कमजोर रूपमा पनि सम्मान गर्ने उदाहरणीय पर्वको रूपमा समेत छठ पर्व रहेको उनले बताए ।

आउँदो सोमबार साँझ अस्ताउँदो र मंगलबार बिहान उदाउँदो सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायतका पूजा सामग्रीहरू राखेर छठ व्रतालुहरूले अघ्र्य दिनेछन् । जसलाई क्रमशः ‘सझियाघाट’ र ‘बिहनियाघाट’ भनिन्छ । आइतबार ‘खरना’ विधि अन्तर्गत ‘रस्याउ रोटी’ अर्थात् दूध र गुँड हालेर पकाइएको खिर (रस्याउ) र रोटी/पुरी खाने व्रतालुहरूले सोमबार दिन भरी निर्जल निराहार बसेर व्रत लिनेछन् ।

Preparations for Chhath in Madhesh

तराईमा कात्तिकी र चैते गरी वर्षमा २ पटक छठ पर्व मान्ने चलन छ । कतिपय व्रतालुहरूले कात्तिकी छठ मात्र मान्ने गर्छन् । कतिपयले दुवै र केहीले भाकल पुरा भएपछि मात्र चैते छठको व्रत लिने गरेका छन् ।  

पर्वको दिन साँझ र बिहान व्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरू घर नजिकको पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुग्नेछन् । नयाँनयाँ वस्त्र परिधान लगाएका व्रतालुका परिवारका सदस्यले व्रतालुको पूजा सामग्रीहरू राखिएको बासको छैंटी टाउकोमा बोकेर घाट सम्म लग्नेछन् ।

छठ व्रत लिए व्रतालुहरूको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । विशेषगरी चर्म रोगको निवारण र आफ्नो एवम् परिवारका सदस्यको सन्तान प्राप्तिको कामना गर्दै यो व्रत लिने चलन छ । सूर्य उपासनाको यो पर्वमा सूर्यलाई नरिवल,अदुवा, उखु र यस पर्वको अनिवार्य प्रसाद ठेकुवा आदिको अर्घ दिने गरिन्छ ।

केही वर्षयता तराई मधेस मात्र नभई पहाडी तथा हिमाली जिल्लाहरु तथा संघीय राजधानी काठमाडौंमा समेत छठ पर्व भव्यताका साथ मान्न थालिएको छ । विदेशमा बस्ने तथा यो पर्वमा फर्कन नसक्ने तराई मधेसवासीहरू त्यहाँ पनि यो पर्वलाई श्रद्धा पूर्वक मान्ने गर्छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully