पर्सामा हैजाविरुद्धको प्रतिकार्य खोप अभियानले पाएन पूर्ण सफलता

जिल्लाका १४ वटै स्थानीय तहमा एकैसाथ यो अभियान सञ्चालन गरिएकामा सबैभन्दा बढी जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत र सबैभन्दा कम जिरा भवानी गाउँपालिकामा ७८ प्रतिशत कभरेज भएको छ ।

कार्तिक ३, २०८२

शंकर आचार्य

Anti-cholera vaccination campaign in Parsa not completely successful

What you should know

पर्सा — हैजा रोगको महामारीविरुद्धको प्रतिकार्य खोप अभियानले पर्सामा पूर्ण सफलता पाउन सकेको छैन । सरोकारवाला निकायको सक्दो प्रयासपछि पनि जिल्लामा यो अभियानले ८४ प्रतिशत मात्र कभरेज पाएको हो । अर्थात १६ प्रतिशत जिल्लाबासी अझै खोप लिनबाट वञ्चित रहेका छन् ।

असोज २६ देखि जिल्लाभरि सञ्चालन गरिएको यो अभियान आइतबार सम्पन्न भएको हो । यस क्रममा कूल ६ लाख ५२ हजार १ सय २९ जनालाई खोप दिने लक्ष्य रहेकामा ५ लाख ४७ हजार ३ सय ११ जनाले मात्र खोप लिएका छन् ।

जिल्लाका १४ वटै स्थानीय तहमा एकैसाथ यो अभियान सञ्चालन गरिएकामा सबैभन्दा बढी जगरनाथपुर गाउँपालिकामा ९४ प्रतिशत र सबैभन्दा कम जिरा भवानी गाउँपालिकामा ७८ प्रतिशत कभरेज भएको छ ।

छिपहरमाई गाउँपालिकामा ९३, बिन्दवासिनी गाउँपालिकामा ९१, सखुवाप्रसौनी गाउँपालिकामा ८८, ठोरी गाउँपालिकामा ८६, पटेर्वासुगौली र धोबिनी गाउँपालिकामा ८५/८५, पर्सागढी नगरपालिकामा ८४, पोखरिया नगरपालिकामा ८३, वीरगन्ज महानगरपालिकामा ८२, कालिकामाई गाउँपालिकामा ८१, बहुदरमाई नगरपालिका र पकाहामैनपुर गाउँपालिकामा ८०/८० प्रतिशत कभरेज भएको छ ।

सबैभन्दा बढी जनसंख्या भएको वीरगन्ज महानगरपालिकामा २ लाख ७५ हजार ६ सय ७३ जनालाई यो खोप दिने लक्ष्य रहेकामा २ लाख २६ हजार १ सय ६६ जनाले मात्र खोप लिएका छन् ।

वीरगन्जमा फैलिएको हैजा नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थासम्बन्धी अन्तर्राष्ट्रिय समन्वय समूह आईसीजीसँग खोपको माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको प्राविधिक सहयोगमा पर्सा र बारामा यो अभियान सञ्चालन गरिएको थियो । 

इयूभिकोल–एस खोप एक मात्रा खुवाएको दुई सातापछि ८२ प्रतिशत प्रभावकारी हुन्छ । गत भदौ ६ गतेदेखि वीरगन्ज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा फैलिएको हैजाको प्रकोप पूर्ण रूपमा नियन्त्रणमा नआएपछि खोप अभियान सुरु गरिएको हो । खोप अभियानले प्रभावित क्षेत्रका बासिन्दालाई रोगबाट जोगाउन र अन्य क्षेत्रमा महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । 

अभियानलाई प्रभावकारी बनाउन जिल्लाका १४ पालिकामा १ हजार ९ सय ५० खोप केन्द्र स्थापना गरिएको थियो । केन्द्रहरूमा स्थानीय पालिका कार्यालय, वडा कार्यालय, सरकारी तथा निजी अस्पताल, सामुदायिक र निजी विद्यालय, कलेज, सरकारी कार्यालय, गैरसरकारी संस्था, मन्दिर, मस्जिद, चर्च, गुम्बा, बसपार्क, नेपाल–भारत सीमा नाका र उद्योग कलकारखाना समावेश थिए । अभियानमा १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी गरी कुल १ हजार ८ सय ९४ जनशक्ति परिचालन गरिएको थियो । 

हालसम्म वीरगन्ज महानगरमा १ हजार ५ सय ६७ जना झाडापखाला र हैजाका बिरामी वीरगन्जको बिभिन्न अस्पतालमा उपचारार्थ आएकोमा ती मध्ये २ सय २७ जनामा हैजा संक्रमण पुष्टी भएको छ । यस बाहेक पोखरिया नगरपालिकामा पनि १८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । परीक्षणहरूबाट वीरगन्जको बिभिन्न स्थानबाट संकलन गरिएको पानीमा हैजाको जिवाणु फेला परेको छैन । करीब २ बितिसक्दा पनि सङ्क्रमणको स्रोत पत्ता लाग्न सकेको छैन ।

अभियान पूर्ण रूपमा सफल नहुनुमा सर्वसाधारणको उदासिनता नै मुख्य कारण रहेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख राजु साहले बताए । ‘कतिपय शिक्षित र सचेत वर्गले नै खोप लिन मानेनन्,’ उनले भने, ‘कतिपय कर्मचारीले कार्यव्यस्तताका कारण पनि खोप लिन भ्याएनन् ।’

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully