तिहारको मुखमा सूचना जारी गर्दै प्रशासनले कानून विपरीतका गतिविधि गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो।
राजविराज — सप्तरी प्रशासनले चाडपर्वमा प्लाष्टिकजन्य फूल–गुच्छा आयात, निर्यात, विक्री वितरण र भण्डार गर्दा कारबाही हुने चेतावनी दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबार सूचना जारी गर्दै शुभ दिपावली, नेपाल सम्वत, छठ पर्व लगायतको चाडपर्व आपसी सद्भाव र सौहार्दताकासाथ मर्यादित तवरले मनाउन अनुरोध समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जारी गरेको सूचनामा भूइचम्पा, पटाका आतिशवाजी जस्ता विष्फोटक र ज्वलनशील पदार्थको प्रयोगले आगलागी, धनजनको क्षति हुनसक्ने भएकाले त्यस्ता पदार्थको ओसार पसार, खरिद विक्री नगर्न सचेत गराएको छ ।
त्यस्तै, तिहारमा देउसी भैलोको कार्यक्रम बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न, चिठ्ठा, जुवा, तास खेल्ने खेलाउने कार्य नगर्न र मादक पदार्थ सेवन गरी हो–हल्ला, झै–झगडा नगर्न पनि सचेत गराइएको छ ।
कानून विपरितका गतिविधि गर्नेलाई कारबाही गरिने प्रजिअ पोखरेलले जारी गरेको सूचनामा चेतावनी दिइएको छ ।
