‘लकडाउन’ मा जागिर गुमाएका सप्तरीको राजविराज नगरपालिका–११ फर्सैठका ४८ वर्षीय मधुसुदन यादव अहिले माछापालन गरेर स्वरोजगार बनेका छन्।
What you should know
राजविराज — कोरोना महामारीका बेला ठूल्ठूला व्यापार–व्यवसाय, शिक्षण संस्था समेत ठप्प हुँदा हजारौंले रोजगारी गुमाए । केहीले त विकल्प नहुँदा सस्तोमै घरजग्गासम्मै बेचेर जीविका चलाए ।
संक्रमण नियन्त्रण गर्न लामो समयसम्म भएको ‘लकडाउन’का कारण केहीले त अझै आर्थिक मार खेपिरहेका छन् । त्यहीँ ‘लकडाउन’ मा जागिर गुमाएका सप्तरीको राजविराज नगरपालिका–११ फर्सैठका ४८ वर्षीय मधुसुदन यादवकाे भने अहिले पहिचान नै फेरिएको छ ।
कोरोना संक्रमणअघिसम्म उनी पाराडाइज क्याम्पस राजविराजमा डीआई (डिसिप्लिन इन्चार्ज) पदमा कार्यरत थिए । कोरोनाकालमा उनले १२ वर्षदेखिको जागिर गुमाए । गरिखाने विकल्प नपाएर उनी केही समयसम्म बेरोजगार भएर घरमै बसेँ । त्यो बेला उनका बालबच्चा काठमाडौंमा बसिरहेका थिए । उनी पनि ‘लकडाउन’मा बालबच्चासँगै बस्न काठमाडौं पुगे । ‘त्यो बेला महामारीले सबैतिर त्राहीमाम थियो,’ उनले भने, ‘त्रास एकातिर थियो, अर्कोतिर हामी पनि आर्थिक रुपले पनि थला परिसकेका थियौं, बाँच्यो भने आफ्नै व्यवसाय गर्नुपर्ने पर्छ भन्ने सोचेँ ।’
युट्युब हेर्दै व्यवसाय छनोट गर्नका लागि ‘आइडिया’ खोज्न सुरु गरे । त्यहीँ क्रममा उनले पूर्व कृषि तथा सहकारी मन्त्री लोकेन्द्र विष्टले कृषि कर्ममा लागेको हेरे । कागती खेतीमा पनि नजर दौडाए । जिल्लामै पूर्वप्रधानाध्यापक भागवतप्रसाद यादवले गरिरहेको कागती खेती हेर्न पनि आए ।
अझै राम्रो व्यवसाय गर्नका लागि ‘आईडिया’को खोजीमै थिए । त्यहीँ बेला उनी मत्स्य विकास केन्द्र फत्तेपुरका तत्कालीन प्रमुख जागेश्वर यादवसँग सल्लाह गर्न पुगेँ । अन्य व्यवसायभन्दा पनि माछाको खपत बढिरहेको र आम्दानी पनि धेरै हुने जागेश्वरबाट सुझाव पाए ।
जोखिम समेत अत्यन्तै कम रहने भएकाले उनी माछापालन नै गर्ने निधोँ गरे । तर, मधुसुदनसँग त्यति पैसा भने थिइन् । उनी पैसाको जोहोमा लागे । पूर्वसांसद सूर्यनाथप्रसाद यादव र प्रा.डा.शिवनारायण यादवको सहयोगमा उनले सिटिजन बैंकबाट १० लाख रुपैयाँ सहजै ऋण पाए पनि त्यो रकम व्यवसाय सुरु गर्न पर्याप्त थिएन ।
व्यवसाय सुरु गर्न रकम नपुग भइरहेकोले उनले कसैसँग सहकार्यमा माछापालन गर्ने सोच बनाए । खोजी गर्दैगर्दा उनी जिल्लाको शम्भुनाथ नगरपालिका ४ सखुवा टोल पुगेँ । त्यहाँ भरत यादवले पहिलादेखि नै माछापालन फार्म सञ्चालन गरिरहेका थिए । उनले पनि त्यहीँ फार्ममा त्यो रकम लगानी गरेर माछापालनका लागि सहकार्य गरेँ ।
दुई वर्षसम्म उनी त्यहीँ काम गरे पनि उनलाई चित्त बुझेको थिएन । माछापालन सम्बन्धी आधारभूत जानकारी पाइसकेकाले उनले अलिक ठूलो परिमाणमा माछापालन गर्ने ठाउँको खोजीमा लागे । त्यहीँ ठाउँमा ठूलो एरिया पाए पनि रकम अभावको समस्या उनलाई चुनौति बनिरहेको थियो ।
त्यो योजना उनले भर्खर एमबीएको अध्ययन सकाएका आफ्ना जेठान राजविराज नगरपालिका–१५ देउरी भरुवाका ३६ वर्षीय राजेश यादवलाई सुनाए । राजेशले पनि इच्छा जनाएसँगै मधुसुदनले पैसाको जोहो गर्न सुरु गरे । राजेशले नबिल बैंक, आफ्न्त र चिनजानकासँग पनि २० लाख रकम थपेँ । दुवै जना मिलेर सुरुमा करिब ६० लाख रुपैयाँ जम्मा गरेर २० विघा जग्गा लिजमा लिए । उक्त जग्गामा पहिलादेखि नै साना–साना पोखरी रहे पनि माछापलन गर्दा आवश्यक पर्ने मापदण्डअनुसार थिएनन् ।
विघाको वार्षिक ९६ हजारका दरले लिजमा लिइएको उक्त जग्गामा दुवै जनाले पोखरीलाई मापदण्ड अनुसारका बनाए । उनीहरुले २०७९ मा आर्या एण्ड आरभ मत्स्यपालन तथा बहुउद्देश्यीय कृषि फार्म स्थापना गरे । उक्त जग्गामा तयार पारिएका ८ वटा नर्सरी (भूरा राख्ने पोखरी) सहित २० वटा पोखरीमा माछापालन सुरु गरे । मत्स्य विकास केन्द्रबाट कार्प (विगहेड, ग्रास, सिल्भर, कमन, रेहु, नैनी, भाकुर) प्रजातिका माछाको भुर्रा ल्याएर नर्सरीमा हालेँ ।
उनको फार्ममा अहिले पोखरीका डिलमा गरिएको तरकारी खेती रेखदेख, माछालाई दाना हाल्न, पोखरी सफा गर्न, पानी थप्न र मर्मत–सम्भार गर्न भ्याइँनभ्याइँ हुन थालेपछि उनीहरुले सोही गाउँका महिला र पुरुष गरी ८ जनालाई कामदारका रुपमा राखेका छन् । उनीहरुलाई दुई सिफ्टमा काम लगाइएको छ भने मासिक १५ हजार रुपैयाँसम्म तलब दिइरहेका छन् ।
पोखरीमा पानी थप्नका लागि पाँच वटा डिप बोरिङ जडान गरिएको छ भने माछाका लागि वातावरणअनुकुल बनाउन ‘एरिएटर’ पनि राखेका छन् । ‘नर्सरीबाट पोखरीमा सारेपछि वर्ष दिनमा करिब दुई किलोको माछा तयार भइहाल्छ,’ उनले भने, ‘पहिलो लटमा निकालिएको माछा बिक्री गरेपछि सबै खर्च काटेर ६०/६२ लाख रुपैयाँको आम्दानी भए पनि पोखरी धेरै भएर भुरा अझै थप्न सकेका छैनौं ।’
अहिले भुरामै लगानी थपिरहेको उनले सुनाए । यो सिजनमा एक हजार क्विन्टल माछा र सरदर २ सय २० रुपैयाँको दरले २ करोड २० लाख रुपैयाँको माछा विक्री गरेर ४० प्रतिशत आम्दानी हुने उनको अनुमान छ । तर, भारतबाट आयात गरिएका अस्वस्थकर माछाले बजार भाउमा असर पार्दा समस्या हुने गरेको उनले गुनासो गरे । ‘बजारीकरणको समस्यै छैन तर भारतीय माछाले भाउमा असर पार्छ,’ उनले भने ।
सरकारले पनि वास्तविक किसानलाई पहिचान गर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरे । ‘सरकारले आफु जस्ता वास्तकि किसानलाई हेर्नसक्यो भने मधेश र देशलाई माछामा आत्मनिर्भर हुन टेवा पुग्छ तर कसैलाई मतलब छैन’, उनले भने ।
मधुसुदन २०५८ सालदेखि नै माओवादीका सक्रिय कार्यकर्ता थिए । त्यो बेला महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजमा तीन कार्यकाल विद्यार्थी संगठनका अध्यक्ष समेत रहेका उनी समाजशास्त्रमा स्नातकोत्तर र एलएलबीसम्म अध्ययन गरे ।
अधिकार प्राप्तिका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिकामा देखिने उनी अहिले अखिल क्रान्तिकारी माछा व्यवसायी संघका केन्द्रीय कोषाध्यक्ष छन् । पार्टी र नेताले आफ्नो विषयमा सोचिदेलान् भन्ने आश नगरेर आफ्नो भविष्य बनाउन परिश्रम गरिरहेको मधुसुदनले बताए । अहिले उनीहरुको फार्मको पूँजी १ करोड ३० लाख रुपैयाँ पुगेको छ ।
