मधेशका नवनियुक्त मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए सपथ

जसपालाई अर्थसहित चार मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार, लोसपा, माओवादी र नेकपा एसलाई दुई/दुई मन्त्रालय दिइने सहमति भएको छ ।

आश्विन ३०, २०८२

कमलेश ठाकुर

Two ministers, including newly appointed Madhesh Chief Minister, take oath

जनकपुरधाम — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) सहित दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बिहीबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले तीनै जनालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइन् ।

जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकिकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिश पटेल बिनाविभागीय मन्त्री बनेका छन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा सपथ ग्रहण गरेका थिए । बाँकी मन्त्रीहरुको सपथ ग्रहण तिहारपछि हुने तयारी छ ।

जसपालाई अर्थसहित चार मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार मन्त्रालय, लोसपा, माओवादी (केन्द्र) र नेकपा(एस) लाई दुई/दुई मन्त्रालय दिइने सहमति भएको छ ।

मंगलबार सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि बुधबार मुख्यमन्त्री पदमा सोनल नियुक्त भएका थिए । मुख्यमन्त्रीको नियुक्तिमा नेपाली कांग्रेस र नेकपा एमालेले आपत्ति जनाउँदै आएका छन् । जनमतबाट छुटिएर जनस्वराज पार्टी दुई जना सांसदले रोजेका कारण दाबी पेस भएको संख्याअनुसार नभएको हुनाले सोनललाई मुख्यमन्त्री नियुक्त गर्न नहुने कांग्रेस/एमालेको तर्क छ । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully