सडक पेटीमै एक सातादेखि ५० परिवारको बास

गत वर्षजस्तो व्यापार अहिले नभए पनि धन–तेरसका दिनदेखि व्यापार बढ्नेमा आशावादी ।

आश्विन ३१, २०८२

शंकर आचार्य

50 families have been living on a roadside for a week

What you should know

पर्सा — वीरगन्ज महानगरपालिका–२३ सबैठवाका ३० वर्षीय प्रधुमन पण्डित वीरगन्जस्थित घण्टाघरमा सडकको पेटीमा बास बस्न थालेको एक साता भयो । पर्सा पकाहामैनपुर गाउँपालिका सूर्याहा घर भएका रमेश पण्डितसँग साझेदारीमा गरेको माटोका भाँडा र सामग्री बेच्ने व्यापारमा अहिले उनी मग्न छन् ।

सडक पेटीमै भिनाजु र सालो मिलेर पसल थापेका हुन् । राति पनि पालैपालो उनीहरू सडकपेटीमै सुत्छन् । कतिपय कुम्हाले खुला आकाशमुनि सुत्छन् । कोही प्लास्टिकको टेन्ट हाल्छन् । कतिपय कुम्हाले सपरिवार नै झण्डै दुई साता व्यापार गर्न भनी सडक पेटीमा सँगै बसिरहेका छन् । 

‘झण्डै दुई लाखको सामान यस वर्ष हामीले दीपावली र छठ पर्वका लागि भनेर बिक्री गर्न ल्याएका छौं,’ प्रधुमनले भने, ‘त्यत्तिकै राति छोडेर हिँडदा चोरी हुने, टुटफुट हुने डर हुन्छ ।’ 

गत वर्षजस्तो व्यापार अहिले नभए पनि धन तेरसको दिनदेखि व्यापार बढ्नेमा उनी आशावादी छन् । ‘अहिले फाट्टफुट्ट व्यापार भएको छ, तर धन तेरसको दिनदेखि व्यापार बढ्ने आशा छ,’ उनले भने, ‘बर्सेनि तिहार र छठ पर्वका बेला हाम्रो यस्तै दैनिकी हुन्छ ।’ 

छेउमै भेटिए अर्का किशोर कुम्हाले विकासकुमार प्रजापति । उनी पनि एक सातादेखि यहाँ माटाका भाँडाकुडा बेच्न बसेका छन् । बुवा शुभनारायण र भाइ ईश्वर पनि साथमै छन् । ‘यो हाम्रो पुर्ख्यौली पेसा हो,’ उनले भने, ‘वर्षभरि माटाका भाँडाकुडा बनाउँछौं, तिहार र छठ पर्वमा भने राम्रो व्यापार हुन्छ ।’

वीरगन्जमा यसरी तिहार र छठ पर्व लक्षित व्यापार गर्न आएका अधिकांश कुम्हाले पकाहामैनपुर गाउँपालिकाको सूर्याहाका छन् । त्यहाँ कुम्हालेको ठूलो बस्ती रहेको र उनीहरूले अझै पनि पुर्ख्यौली पेसा धानिरहेका छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully