६ दलका ५७ सांसदको समर्थनमा मधेसको मुख्यमन्त्रीमा लोसपाका सोनलको दाबी पेस

६ दलका ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष बुधबार दिउँसो दावी पेश भएको हो।

आश्विन २९, २०८२

कमलेश ठाकुर

With the support of 57 MPs from 6 parties, LOSPA's Sonal submitted his claim for Madhes chief ministership

जनकपुरधाम — मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनार (सोनल) को नेतृत्वमा नयाँ सरकार गठनको लागि दाबी पेस गरिएको छ ।

६ दलको ५७ सांसदको सर्मथनमा प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बुधबार दावी पेश गरिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आहृवान गरेकी थिइन् । सो आहृवानअनुसार ६ दलको प्रस्तावमा सोनलको दाबी पेस भएको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, लोसपा, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले सर्मथन गर्ने र दावी पेश गर्ने समयमा पनि उपस्थित भएका थिए । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दाबी गरेका हुन् ।

दिउँसो ४ बजे नियुक्त गर्दै सोही समयमा सपथ खुवाउने तयारी रहेको छ । मधेस प्रदेशसभा कुल १०७ सदस्यीय छन् । दुई जना निलम्बित भएकाले हाल १०५ जना सदस्य सक्रिय छन् ।

यसअघि नेकपा (एमाले), नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा सरकार गठनको तयारी गरे पनि अन्तिम समयमा दुई दललाई पाखा राखेर साना दलहरूले सरकार बनाउन लागेका हुन्। जनमत पार्टीले एमाले–कांग्रेस गठबन्धन छाडेर साना दलहरूसँग सहकार्य गरेर अगाडि बढेको छ । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully