मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

मुख्यमन्त्रीको प्रस्टीकरण : पार्टीले प्रपञ्च रच्यो, दलहरूले बोली बदले ।

आश्विन २८, २०८२

कमलेश ठाकुर

Madhesh Chief Minister Singh resigned

What you should know

जनकपुरधाम — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै राजीनामा दिएका छन् । मधेश प्रदेश सभामा मंगलबार विश्वासको  मतका लागि प्रस्ताव पेस गर्नुअघि उनले सभालाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

‘म सत्ता र पदक‍ा लागि होइन, जनताका लागि काम गर्न चाहन्छु । जनताको हित र संविधानको रक्षाका लागि यहाँ उभिएको छु,’ उनले भने, ‘वर्तमान परिस्थितिमा मार्ग प्रशस्त गर्दै म मुख्यमन्त्रीको पदबाट राजीनामा गर्दछु ।’

प्रदेशसभामा अल्पमतमा परेपछि मुख्यमन्त्री सिंहले विश्वासको मत नलिँदै राजीनामा दिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनलाई विश्वासको मत नलिएको हुनाले प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा दिन निर्देशन दिएका छन् ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम (४) बमोजिम राजीनामाको घोषणा गरेकाले अब विश्वासको मतको प्रक्रियामा जानु नपर्ने सभामुखले बताए । 

मुख्यमन्त्रीको पदबाट राजीनामा दिन तयार भए पनि पार्टीले आफूलाई बदनाम गराउन प्रपञ्चमाथि प्रपञ्च रचेको पनि उनको आरोप थियो।

‘राजीनामा दिने तयारी गरिरहँदा आफूलाई एक शब्द नसोधी फिर्ता बोलाएको पत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो,’ उनले भने, ‘यो तानाशाही प्रवृत्ति नभए के हो ?' मनपरी, तानाशाही र कानुनको उल्लंघन गर्दै आफूलाई बदनाम गरिएको पनि उनले बताए । 'मेरो चरित्र हत्या नै गरियो,’ उनले भने । पार्टीले आफूविरुद्ध मिडिया ट्रायल गरेर  गलत भाष्य निर्माण गरेको पनि उनको आरोप थियो ।

सरकारमा सहभागी र प्रतिपक्ष दलका सांसदले नै राजीनामा दिने अवस्था नरहेको हुनाले आफूलाई रोकेको उनले दाबी गरे । ‘अहिले तपाईंको राजीनामाले संघीयतामाथि खतरा आउन सक्छ । तपाईं राजीनामा नदिनुस्, नभए सबै जिम्मा तपाईंले लिनु पर्छ,’ मुख्यमन्त्री सिंहले दलका नेताहरूको कुरा उद्धृत गर्दै भने, ‘यस्तो भन्ने दलहरूले नै पछि बोली फेरे । म त छातीमा हात राखेर उक्त कुरा आत्ममन्थन गर्न आग्रह पनि गर्दछु ।’

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully