रौतहटमा जग्गा विवादमा कुटपिट हुँदा वृद्धको मृत्यु

फतुवा विजयपुर नगरपालिका– २ सितलपुरका ६० वर्षीय शंकर साह बनियाँको कुटपिटबाट ज्यान गएको हो ।

आश्विन २६, २०८२

शिव पुरी

An old man died after being beaten up in a land dispute in Rautahat

रौतहट — रौतहटको फतुवा विजयपुरमा जग्गाको विषयमा दुई पक्षबीच कुटाकुट हुँदा आइतबार दिउँसो एक वृद्धको मृत्यु भएको छ । घटनामा एक महिला घाइते छन् । 

झडपमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । फतुवा विजयपुर नगरपालिका– २ सितलपुरका ६० वर्षीय शंकर साह बनियाँको कुटपिटबाट ज्यान गएको हो । 

छिमेकी कपिलदेव यादव र मृतक साह पक्षबीच जग्गाको विषयमा विवाद भएको थियो । विवाद चर्किएपछि  कुटाकुट भएको थियो । झडपमा गम्भीर घाइते शंकरको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

झडपमा शंकर पक्षको कुटाइबाट कपिलदेव यादवका ४० वर्षीया श्रीमती मिना देवी घाइते भएकी छन् । घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा शंकरमाथि कुटपिट गर्ने स्थानीय विनोद भन्ने हरिदेव यादव, ब्रह्मदेव यादव र उनका छोरा सुरेश यादव फरार रहेको प्रहरीले जनाएको छ । दुवैबीच कहिलेदेखि र कुन विषयमा विवाद भएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully