पर्सामा टरेन हैजाको जोखिम, खोप कार्यक्रम चलाइने

विश्व स्वास्थ्य संगठन र युनिसेफका विज्ञसहितको टोलीले खानेपानीको प्रयोगशाला परीक्षण गर्दा पनि हैजाको जीवाणु कतैको भेटिएन ।

आश्विन २३, २०८२

शंकर आचार्य

Taran cholera risk in Parsa, vaccination program to be launched

What you should know

पर्सा — डेढ महिनाअघि वीरगन्जमा देखिएको हैजाको प्रकोप अहिले स्थिर विन्दुमा रहेको छ । वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार महानगरमा हालसम्म हैजा संक्रमितको संख्या २ सय २७ पुगेको छ ।

असोज ११ सम्म पनि महानगरमा हैजा संक्रमितको संख्या यति नै थियो । सबै संक्रमित उपचारपछि घर फर्किसकेका छन् । यस अवधिमा वीरगन्जका विभिन्न अस्पतालका झाडापखाला र हैजाका गरी १ हजार ६ सय ४६ बिरामी आएकामा १ हजार ६ सय ४१ उपचारपछि घर फर्किसकेका छन् । अहिले ५ झाडापखालाका बिरामी उपचाररत छन् ।

वीरगन्जबाहेक पोखरिया अस्पतालमा १८ हैजा संक्रमित उपचारका लागि आएका थिए । त्यहाँ पनि संक्रमितको संख्या थपिएको छैन ।

संक्रमणको स्रोत पत्ता लागेन

सुरुवाती दिनमा स्थानीय प्रशासनले हैजाबाट वीरगन्जमा कसैको पनि मृत्यु नभएको दाबी गरेको थियो । त्यसैताका वीरगन्जको नारायणी अस्पताल र वीरगन्ज हेल्थ केयर अस्पतालमा क्रमशः एक महिला र पुरुषको हैजासँग मिल्दोजुल्दो लक्षणका कारण मृत्यु भयो । प्रयोगशाला परीक्षणबिनै उनीहरुको अन्तिम संस्कार गरियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वीरगन्जमा हैजाका कारणले तीन जनाको मृत्यु भएको जानकारी प्रतिनिधिसभालाई गराएका थिए । तर वीरगन्जका कुनै पनि सरकारी निकायले हालसम्म हैजाबाट एक जनाको पनि मृत्यु भएको आधिकारीक पुष्टि गरेका छैनन् ।

हैजाको प्रकोप फैलिएसँगै यसको स्रोतबारे विभिन्न अड्कलबाजी पनि गरिएको थियो । अधिकांशले खानेपानी संस्थानको पानी वा भर्खरै गाडिएका डिप बोरिङका पानीमा संक्रमण रहेको प्रारम्भिक अनुमान गरे । तर अनुमानविपरीत कुनै पनि निकायबाट गरिएको प्रयोगशाला परीक्षणले पानीमा हैजाको किटाणु फेला परेन ।

वीरगन्ज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको संक्रमित स्थलको पानी परीक्षणमा झाडापखाला फैलाउने किटाणु भेटिएन । हैजा प्रभावित महानगरको वडा नं १०, ११ र १२ का सात स्थानका धाराबाट लिइएका सबै नमुनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको थियो । महानगरले हैजा प्रभावित वडा नं १०, ११ र १२ का विभिन्न सात स्थानका धाराबाट पानीको नमुना संकलन गरी परीक्षण गरेको थियो । तीमध्ये तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट नमुना संकलन गरेर परीक्षण गरिएकामा सबै सात नमुनामा झाडापखाला फैलाउने इकोली किटाणु फेला परेन ।  

महानगरको वडा नं १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालामा उक्त परीक्षण गरिएको थियो ।

डेढ महिनाअघि नै संघीय ढल निकास तथा व्यवस्थापन विभाग मातहतको जनकपुर प्रादेशिक कार्यालयले वीरगन्जको विभिन्न स्थानबाट संस्थानको पानीको नमुना लगेर आफ्नो प्रयोगशालामा परीक्षण गर्दा संस्थानको पानीमा हैजाको संक्रमण भेटिएन ।  

जेन जी आन्दोलनको २ दिनअघि सोही विभागले विश्व स्वास्थ्य संगठन र युनिसेफका विज्ञसहितको टोली ल्याएर वीरगन्जको विभिन्न स्थानका खानेपानीको प्रयोगशाला परीक्षण गर्दा पनि हैजाको जीवाणु कतैको पानीमा पनि भेटिएन ।

जोखिम अझै टरेको छैन

नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंह सातायता अस्पतालका दैनिक ४/५ जना झाडापखालाका बिरामी आइरहेको बताउँछन् । पर्सा र बारामा हालै ठूलो वर्षा भएकाले केही दिनपछि फेरि हैजाको संक्रमण देखा पर्न सक्ने जोखिम भने रहेको डा सिंह बताउछन् । ‘भारी वर्षापछि नालाहरुबाट घरघरमा गएको खानेपानीको पाइपबाट हैजाको संक्रमण फैलिन सक्ने जोखिम टरिसकेको छैन,’ उनले भने, ‘आउँदो तीन-चार दिनसम्म हैजा संक्रमण पुनः नदेखिए भने मात्र ढुक्क हुन सकिन्छ ।’

भ्याक्सिनेसन कार्यक्रम चलाइने

विश्व स्वास्थ्य संगठनले पर्सा, बारामा हैजा रोकथामका लागि भ्याक्सिनेसन कार्यक्रम सञ्चालन गर्ने भएको छ । डा सिंहका अनुसार हैजा संक्रमण नियन्त्रणका लागि यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

‘सुरुमा चिकित्सकहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘त्यसपछि स्थानीय तहहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेपछि भ्याक्सिनेसन कार्यक्रम सुरु गरिनेछ ।’ 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully