सर्लाहीको कौडेनामा बाढीले बगाएको हुलाकी सडकमा सुरक्षाकर्मीले बाँसको लच्का बनाएका हुन् ।
सर्लाही — शनिबार रातिको अविरल वर्षासँगै आएको बाढीले सर्लाहीको कौडेनामा बगाएको हुलाकी सडकमा सुरक्षाकर्मीले बाँसको लच्का बनाएको छ ।
स्थानीयलाई आवतजावत सजिलोका लागि सुरक्षाकर्मीले लच्का बनाएका हुन् ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर बाँसको अस्थायी लच्का निर्माण गरेका छन् ।
लच्का निर्माण भएपछि मानिस, साइकल र मोटरसाइकल आउजाउ गर्न थालिसकेका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार चार पांग्रे सवारीसाधनका लागि डाइभर्सन निर्माणको काम पनि भइरहेको छ ।
शनिबारको अविरल वर्षापछि लखन्देही खोलामा ठूलो बाढी आउँदा कौडेना गाउँपालिका-३ स्थित हुलाकी सडक बगाएको थियो । दक्षिणी क्षेत्रको लाइफलाइनको रुपमा रहेको हुलाकी सडक बगाएपछि सदरमुकाम मलंगवासँग आधा दर्जन पालिकाको सम्पर्क टुटेको छ ।
यसअघि स्थानीय केही युवा मिलेर सोमबार बिहानदेखि बाँस र पाटको लच्का बनाइ शुल्क उठाएर पैदलयात्री,साइकल र मोटरसाइकल तार्ने व्यवस्था मिलाएका थिए ।
