जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले लच्कामा पानी जमेकाले सवारी आवागमन ठप्प भएको बताए ।
रौतहट — लगातारको वर्षाका कारण रौतहटको गौर नगरपालिका–६ स्थित लच्कामा पानी जमेपछि सदरमुकाम आवागमन अवरुद्ध भएको छ । अहिले गौर बजारबाट झण्डै ५ किलोमिटर उत्तरसम्म मात्र सवारी साधन पुग्ने गरेका छन् । लच्काबाट जानै कठिन छ ।
लच्कामा पानी जमेपछि मानिसको आवागमन समेत बन्द भएको छ । त्यस क्षेत्रमा मानिसहरु पैदल हिँड्न समेत कठिन भएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले लच्कामा पानी जमेकाले सवारी आवागमन ठप्प भएको बताए । प्रहरीका अनुसार ट्रयाक्टर चढेर मानिसहरू ओहोरदोहोर गरिरहेका छन् । अहिले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
सदरमुकाम गौर चल्ने सानाठूला सवारी साधन ठप्प छन् । लच्काको पानी कम भएपछि सवारी चल्न सक्ने प्रहरीको भनाइ छ ।
सदरमुकाम गौरसमेत अहिले जलमग्न छ । राजपुर नगरपालिका–१ हुलाकी राजमार्गको फतुवा जाने बाटोको लच्कामा पानी जमेपछि आवागमन बन्द भएको हो ।
यमुनामाई गाउँपालिका–४ हुलाकी राजमार्गको बडहर्वा चोक जाने बाटोसमेत बाढीले बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गुजरा नगरपालिका–८ जैगलसैया जाने बाटोको लाहामा नदीमा पानीको सतह बढेपछि बाटो बन्द भएको छ ।
