कोशी नदीको बहाव ५ लाख क्युसेक नाघेर स्थिर

आइतबार राति ८ बजे मापन गर्दा बहाव घटेर पाँच लाख १९ हजार ४ सय ७० क्युसेकमा झरेको छ । तर जोखिम अझै कायमै रहेकोले नदी आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आश्विन १९, २०८२

विद्यानन्द राम

The flow of the river Koshi is stable at over 5 lakh cusecs

What you should know

राजविराज — भीषण वर्षाले सप्तकोशी नदीमा शनिबार साँझदेखि निरन्तर बढेको पानीको बहाव आइतबार पाँच लाख क्युसेक नाघेर स्थिर भएको छ । शनिबार साँझ ८ बजे एक लाख ९ हजार ३ सय ६० क्युसेक मापन गरिएको पानीको बहाव आइतबार बिहान ९ बजेसम्म चार लाख ३१ हजार ५ सय २५ क्युसेक पुगेको थियो । 

नदीको बहाव खतराको सतहभन्दा झन्डै तीन गुणाले बढेपछि ब्यारेजका ५६ वटै ढोका खोलिँदा पनि बिहान ११ बजेसम्ममा पानीको बहाव बढेर पाँच लाख १० हजार ९ सय ६० क्युसेक पुगेको थियो । एक लाख ५० हजार क्युसेक बहाव पुग्दा नै खतराको संकेत स्वरुप रातो झन्डा र बत्ती बाल्ने गरिएको ब्यारेजको पुलमा यात्रा गर्न जोखिम बढेको भन्दै आवतजावतमा समेत रोक लगाइएको थियो । 

दिउँसो १ बजेसम्म बहाव स्थिर रहँदा आवतजावत पुनः सुरु गराइएको थियो । दिउँसो २ बजेदेखि पुनः बहाव वृद्धि हुँदै ३ बजेसम्ममा पाँच लाख ३३ हजार ५ सय ४० क्युसेक पुगेको हो । आइतबार राति ८ बजे मापन गर्दा बहाव घटेर पाँच लाख १९ हजार ४ सय ७० क्युसेकमा झरेको छ । तर, जोखिम अझै कायमै रहेकोले नदी आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आग्रह गरे । ‘अत्यावश्यकबाहेक घरमै सुरक्षित बस्न सबैमा आग्रह छ’, उनले भने । 

सन् १९६२ मा ब्यारेज निर्माण हुँदा ९ लाख ५० हजार क्युसेक बहाव क्षमता कायम गरिएको थियो । त्यतिबेला नदीमा बालुवा जमेको थिएन र त्यतिबेला ९ लाख ५० हजार क्युसेक बहाव क्षमता हुँदा निर्माण भएको ६ वर्षपछि सन् १९६८ मा ५ अक्टुबरका दिन अहिलेसम्मकै सबभन्दा बढी ९ लाख १३ हजार क्युसेक बहाव मापन भएको थियो । त्यतिबेला कोशीको पुलसमेत थर्किएको थियो । तर केही क्षति भने भएन ।

त्यसपछि अत्यधिक बहाव सन् १९९० को १२ अगस्टमा ५ लाख ९० हजार ५ सय क्युसेक मापन भएको थियो । सन् १९६८ को ५ अक्टुबरदेखि १९९० को १२ अगस्टसम्म पटक पटक ५ लाखभन्दा कम र एक लाख ५० हजार क्युसेकभन्दा माथि बहाव रेकर्ड भएको ब्यारेज प्रशासनको तथ्यांकमा छ ।

पछिल्लो पटक गत वर्ष पानीको बहाव ६ लाख ६१ हजार ९ सय ९५ क्युसेक हुँदा पुलमाथिबाट पानी बगेर पुलमा सामान्य क्षति पुगेको थियो । क्षति पुगेका स्थानमा पुल मर्मत गरिए पनि नदीमा बालुवा जमेर बहाव क्षमतामा ह्रास आएकोले जोखिम कायमै रहेको भारतीय प्राविधिकहरूको भनाइ छ ।

०६५ भदौ २ मा पानीको बहाव एक लाख ६० हजार ५ सय ६२ क्युसेक रहँदा सुनसरीको पश्चिम कुशाहस्थित पूर्वी तटबन्ध भत्किएको थियो । त्यतिबेला सुनसरीको तत्कालीन पश्चिम कुशहासहित श्रीपुर जब्दी, हरिपुर र लौकही गाविसका ४२ हजार सर्वसाधारण घरवारविहीन भएका थिए भने छिमेकी भारत बिहारका एक दर्जन जिल्ला जलमग्न भएका थिए ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully