बाँध कटान भएसँगै त्यस क्षेत्रका स्थानीयले जोखिम बढेको बताएका छन् ।
रौतहट — लगातार परेको वर्षाले रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुर नजिक लालबकैया नदीको बाँध कटान गरेको छ । बाँध कटान भएसँगै त्यस क्षेत्रका स्थानीयले जोखिम बढेको बताएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बाँध कटान गरेको जानकारी दिए । ‘लालबकैया नदीमा आएको बाढीले बाँध कटान गरेर २ मिटर मात्र बाँकी रहेको छ,’ उनले भने, ‘अहिले पनि नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा दुई मिटर मात्र तल छ । बाँध भत्कियो भने ठूलो समस्या निम्त्याउँछ ।’
मौलापुर–१ र २ सहित आसपासका दर्जनौं गाउँ डुबानमा पर्ने देखिएको छ । समयमै बाँध मर्मत नहुँदा समस्या आएको स्थानीयले बताएका छन् । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले लालबकैया नदीको मौलापुर क्षेत्रमा बाँध कटान गरेको अवस्थाबारे जानकारी लिइरहेको बताए । ‘बाँध कटान गरेको भन्ने आएको छ,’ उनले भने, ‘के कति क्षति भयो भन्ने विवरण मागेको छु ।’
समयमा बाँध मर्मत गर्न भनेर बागमती र लालबकैया नदी वरपरका स्थानीयले सम्बन्धित निकायलाई दबाब दिँदै आएका छन् । तर बजेट अभाव रहेको भन्दै नदी नियन्त्रणसित सम्बन्धित कार्यालयहरू पन्छिँदै आएको गौरका राजनीतिज्ञ रेवन्त झाले बताए ।
