बागमती नदीको किनारमा बसेकाहरू जोखिममा परेका थिए। नदीमा पानीको सतह बढ्न थालेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो।
What you should know
रौतहट — लगातारको वर्षापछि रौतहटको वृन्दावन नगरपालिका–१ स्थित भोटियाघाट क्षेत्रको बागमती नदी किनारमा बसोबास गर्ने १२८ घरधुरीलाई सशस्त्र प्रहरीले अनुरोध गरी सुरक्षित स्थानमा सारिएको छ।
बागमती नदीको किनारमा बसेकाहरू जोखिममा परेका थिए। नदीमा पानीको सतह बढ्न थालेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो।
केही अटेर गरेर बसेकाहरूलाई बाहिर निकाल्न शनिबार दिउँसो सशस्त्र प्रहरीको सन्तपुर बेसबाट डीएसपी राजेन्द्र बस्नेतको टोली गएको छ।
सशस्त्र प्रहरी सन्तपुर बेसका डीएसपी राजेन्द्र बस्नेत र ११ नम्बर गणको टोलीले भोटियाघाट क्षेत्रको बागमती नदी किनारमा बसोबास गर्नेहरूलाई अनुरोध गरी सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीका एसपी रामहरि अधिकारीले बताए।
एसपी अधिकारीका अनुसार केही अटेर गरेर बसेकाहरूलाई बाहिर ल्याउन सशस्त्र प्रहरीका डीएसपी बस्नेतको टोली अहिले त्यहाँ गएको छ। तीन जना स्थानीयले आफ्नो पशु त्यहीँ राखेको जानकारी पाएपछि टोली त्यहाँ गएको हो। उनीहरूको खेतबारी त्यहीँ छ। उनीहरू अहिले गाउँकै आफन्तकोमा बसिरहेको प्रहरीले जनाएको छ।
बागमती नदीमा बाढीको उच्च जोखिम भएकाले प्रभावित क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान सशस्त्रले बिहानदेखि माइकिङ गरेको छ। बागमती र लालबकैया नदीमा पानीको सतह बढ्दै गएपछि किनारका बस्तीहरू बाढीको जोखिममा परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ११ गण मातहतका सन्तपुर, दुधियाभार, बिजयपुर र समनपुर लगायत बेस क्याम्पहरूले जोखिमयुक्त बस्तीमा माइकिङ गर्दै बाढीबाट हुने क्षतिबाट जोगिन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
वर्षायाममा बागमती र लालबकैया नदी किनारका बस्तीहरूमा बाढी र डुबानको जोखिम बढ्ने गरेको छ।
