दुई समूहबीचको विवाद पछिको आगजनीमा पाँचवटा पसल पूर्ण रूपमा जलेर खरानी भएका छन् भने बाँकी तीनवटा पसलमा तोडफोड र लुटपाट गरिएको स्थानीयले जनाएका छन् ।
महोत्तरी — पिपरा डेकहा बजारमा दुई समूहको विवाद हुँदा पसल र सवारी साधनमा आगजनी गरिएको छ । पिपरा गाउँपालिका–१ डेकहा बजारका ८ पसलमा आगजनी भएको हो ।
बजार नजिकै लागेको मेलामा बिहीबार साँझ दुई समूहबीच विवाद भएको र विवादमा संलग्न समूहले नै ढेकहा बजारको पसलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताए । आगजनीबाट पसलमा रहेको सामानहरु जलेर नष्ट भएको प्रहरी उपरीक्षक शर्माले बताए ।
रुपेश साहको किराना पसलसहित ईशा कवारी, मोहम्मद उम्मेर, मंसुर कवारी, अबु कवारी, लतिभ कवारी, मजलिस कवारी र रामवृक्ष यादव गरी आठ व्यापारीको पसलमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
