सर्लाहीमा स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक जना घाइते

दुर्घटनामा परी मोटरसाइकल चालक ब्रहम्पुरी–२ का २३ वर्षीय अंकित चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय रोहित सहनीको मृत्यु भएको हो।

आश्विन ११, २०८२

ओमप्रकाश ठाकुर

सर्लाही — हुलाकी सडक खण्डअन्तर्गत सर्लाहीको ब्रहम्पुरीमा गएराति स्कारपियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार साँझ करिब ८ बजेतिर पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एमएच ०४ डिजे १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकलमा तीनजना सवार थिए ।

ठक्करबाट मोटरसाइकल चालक ब्रहम्पुरी–२ का २३ वर्षीय अंकित चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा जनकपुरस्थित राम जानकी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी, मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय रोहित सहनीको पनि गएराति नै मृत्यु भएको हो। दुबै जनाको को शव प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

मोटरसाइकलमा पछाडि बसेका २३ वर्षीय शिवशंकर पण्डित भने घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचारका लागि बारा जिल्लास्थित एलएस न्युरो अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ। घटनापछि स्कारपियो चालक भने फरार छन्। ठक्कर दिइएको स्कारपियो र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ओमप्रकाश

Link copied successfully