कतिपय फाँटमा रोजीरोजी फाइल नष्ट गरेको पाइएको कार्यालयले जनाएको छ ।
पर्सा — जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीले आन्तरिक राजस्व कार्यालय वीरगन्जमा तोडफोड र आगजनी गर्दा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । यो रकम भवनको क्षति बाहेकको हो ।
कार्यालयका सूचना अधिकृत रामेश्वरकुमार मिश्रले आगजनीबाट कार्यालयको भुई तल्लामा रहेको सेवा शाखामा पूर्ण रुपले र संकलन शाखामा आंशिक क्षति पुगेको बताए । त्यसैगरी पहिलो तलामा रहेको कर परीक्षण ‘क’ शाखा पनि क्षतिग्रस्त भएको उनले बताए ।
कार्यालय प्रमुखको कार्यकक्षमा क्षति पुगेको छ । भुइँतलामा रहेका शाखाहरुमा आगजनीपछि त्यहाँ रहेका सबै कम्प्युटरका हार्ड डिस्क र र्याम पनि जलेको उनले बताए । ‘संकलन शाखा, सेवा शाखा, कर शाखा, प्रमुखको कार्यकक्ष, गोप्य शाखा समेतबाट आगजनी नगरिएका कम्प्युटरका हार्ड डिस्क र र्याम चोरी गरिएका छन् ।’
२ देखि ५ करोडसम्म कारोबार भएका सेवाग्राहीको फाइल र अनलाइन रेकर्डसमेत नष्ट भएका छन् । कतिपय फाँटमा रोजीरोजी फाइल नष्ट गरेको पनि पाइएको मिश्रले बताए । ‘कतिपय फाइल रोजीरोजी दराज खोलीखोली पनि छानेर लगिएको पाइएको छ,’ उनले भने, ‘जान्ने मान्छेहरुले नै यो काम गरेको पक्का छ ।’
