सिरहाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार, कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारको गोदामबाट युरिया ४२ बोरा, डीएपी ९६ बोरा, पोटास ७ बोरा र अन्य ९ बोरा सरकारी अनुदानको रासायनिक मलखाद नियन्त्रणमा लिइएको छ ।
सिरहा — सिरहामा रासायनिक मलमा कालोबजारी बढेको जनगुनासोपछि प्रशासनले गोलबजारस्थित एक गोदाममा छापा हानेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको टोलीले बुधबार गोलबजारस्थित कुशल महतो सञ्चालक रहेको कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारमा छापा मारेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार, कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारको गोदामबाट युरिया ४२ बोरा, डीएपी ९६ बोरा, पोटास ७ बोरा र अन्य ९ बोरा सरकारी अनुदानको रासायनिक मलखाद नियन्त्रणमा लिइएको छ ।
सोही पसलको अर्को गोदाम भने सिल गरिएको छ । एउटा गोदाम खुला अवस्थामा भेटिए पनि अर्कोमा ताल्चा रहेको पाइएकोले सिल गरिएको र बिहीबार त्यस गोदाममा ७ दिने सूचना टाँसेर कानुनी प्रक्रियाअघि बढाइने प्रजिअ अधिकारीले बताए । उनका अनुसार, सरकारी अनुदानको मल यहाँबाट तोकिएको मूल्यभन्दा बढीमा बिक्रीवितरण हुँदै आएको थियो । 'एकातिर किसानले मल नपाउने, अर्कोतिर यसरी भण्डारण गरेर कालोबजारी गर्ने काम भएको छ,' उनले भने, 'हामीले अनुसन्धान र कारबाही थालेका छौं ।'