सरकारले सुरक्षाको प्रत्याभूति नगराए औद्योगिक क्षेत्रमा असर पर्ने वीरगन्जका व्यवसायीको चिन्ता

औद्योगिक क्षेत्र प्रभावित भए सरकारको राजश्व गुम्ने र विद्युत्‌को खपत पनि ह्वात्तै घट्ने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् ।

आश्विन ५, २०८२

शंकर आचार्य

Businessmen of Birgunj are concerned that the industrial sector will be affected if the government does not guarantee security

पर्सा — जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण मधेश प्रदेशको आर्थिक केन्द्रका रुपमा रहेको वीरगन्ज र वीरगन्ज–पथलैया औद्योगिक करिडोर असुरक्षित भएको भन्दै यहाँका व्यापारी चिन्तित छन् । 

आन्दोलनका क्रममा स्थानीय उद्योगिक प्रतिष्ठानहरुमा भौतिक आक्रमण नभए पनि आगामी दिनमा त्यसको असर देखिने सम्भावना रहेको भन्दै व्यवसायीहरुले सरकारसँग सुरक्षाको माग गरेका छन् । 

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालका अनुसार आन्दोलनको क्रममा दुई दिन यहास्थित डाबर नेपाल, सूर्य नेपाल, ब्रिटानिया बिस्कुट, पन्तजलीसहितका बहुराष्ट्रिय कम्पनी लगायत अधिकांश उद्योग बन्द रहेकोमा हाल सबै उद्योग सञ्चालनमा आइसकेका छन् । 

तर सुरक्षाको जोखिम कायमै रहेकाले सरकारले उद्योग र उद्योगीहरुको सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘वीरगन्ज र करिडोरसहित यहाँ करिब १ हजार ठूला, मझौला र साना उद्योग व्यवसाय पुनः सञ्चालनमा आइसकेका छन्,’ उनले भने, ‘तर निजि क्षेत्र अझै पनि त्रसित छ ।’

आन्दोलनको क्रममा वीरगन्ज भन्सार कार्यालय बन्द हुनु, आन्तरिक राजश्व कार्यालय वीरगन्जमा आगजनी र तोडफोड हुनु, वीरगन्ज महानगरपालिकाको कार्यालय पनि ध्वस्त बनाइनुले पनि निजी क्षेत्रलाई नियमित पेशा व्यवसाय गर्न मानसिक दबाब परिरहेको उनी बताउँछन् । 

यसै क्षेत्रमा सरकारकारलाई सर्वाधिक राजश्व दिने र धेरै विद्युत उपभोग गर्ने उद्योगहरुको पनि उपस्थिति बढी छ । औद्योगिक क्षेत्र प्रभावित भए सरकारको राजश्व गुम्ने र विद्युत्‌को खपत पनि ह्वात्तै घट्न जाने सम्भावना रहेको व्यवसायीहरु बताउँछन् । 

कोरोनाकालपछिको आर्थिक मन्दीको मारबाट निस्कने प्रयासमा रहेको यहाँको औद्योगिक क्षेत्रले थप ठूलो जोखिम थेग्न नसक्ने उद्योगी मुरली जालानले बताए । ‘अब देशमा औद्योगिक र आर्थिक क्रान्ति आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि शान्तिपूर्ण वातावरणमा उद्योग धन्दा चलाउने अवस्था बनाइनुपर्छ ।’

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम उद्योग व्यवसाय फस्टाउन पहिलो शर्त शान्ति सुरक्षाको प्रत्याभूतिनै रहेको बताउँछन् । ‘अशान्त वातावरणमा निजी क्षेत्रले सहजै आफ्नो काम गर्नै सक्दैन,’ उनी भन्छन्, ‘चारैतिर निराशा र विध्वंशको माहोलमा यो क्षेत्रमा जिवित आशालाई फल्न फुल्न सरकार र आन्दोलनरत क्षेत्र दुवैले शान्ति सुरक्षाको प्रत्याभूति दिनु पर्छ ।’

करिडोरका उद्योगले करीब ५० हजार जनशक्तिलाई रोजगार दिँदै आएकाले यदि यस क्षेत्रमा कुनै कारणले अशान्ति फैलिन पुगे उद्योग बन्द हुने मात्र होइन, हजारौंको रोजगारीसमेत गुम्नसक्ने उनको भनाइ छ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully