२६ पोकामा ३ क्विन्टल ३४ केजी गाँजा
रौतहट — तरकारी बोक्ने गाडीमा गाँजा तस्करी गर्ने गरिएको पाइएको छ । रौतहटको ईशनाथ नगरपालिकामा प्रहरीले शनिबार राति ठूलो परिमाणान गाँजासहित तरकारी बोक्ने जिप बरामद गरेको छ । प्रहरी देखेपछि जिप चालक भने फरार भए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ईशनाथ नगरपालिका–८ मोतिपुर सडकखण्डमा चेक गर्ने क्रममा तरकारीको पिकअप गाडीमा लुकाएर राखिएको गाँजा फेला पारेको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बताए । ‘गाजा सहित जिप फेला पारेका छौँ । यसका चालक फरार छन्,’ उनले भने,‘चालक फेला पर्यो भने गाँजा तस्करको पहिचान खुल्छ । हामी अनुसन्धान गर्दैछौँ ।’
गाँजा तस्करले प्रदेश–३–०१–०२२ च १८६१ नम्बरको पिकअप भ्यानमा माथिबाट २० पोका काउली राखेर तल २६ पोका गाँजा लुकाइल्याएको प्रहरीले जनाएको छ । मोतीपुरबाट जटहरातर्फ गइरहेको पिकअप भ्यानका चालकले प्रहरी गस्ती टोलीलाई देखेपछि फरार भएको थियो ।
बरामद भएको १५ केजीको १९ पोका र ७ केजीको ७ पोका गरी २६ पोकामा ३ क्विन्टल ३४ केजी गाँजा र पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त गाँजा भारत लैजान लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।
