प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सरकारी सम्पत्तिमा भएको लुटपाट र आगजनीको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।
रौतहट — भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा उत्रेको जेन–जी आन्दोलनका क्रममा २२ करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । आन्दोलनकारीले नगरपालिकाको कार्यालय, सरकारी कार्यालय, कर्मचारी र प्रहरी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । उनीहरूले सांसद र जनप्रतिनिधिको घरलाई समेत छाडेनन् ।
जिल्ला प्रशासन कार्यालय, गौरका अनुसार भदौ २४ गतेको देशव्यापी प्रदर्शनका क्रममा चन्द्रपुरस्थित सडक डिभिजन र डिभिजन वन कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएका थिए । चन्द्रपुर, गरुडा, कटहरिया, मौलापुर र फतुवाबिजयपुर नगरपालिकाहरूमा पनि तोडफोड, आगजनी र लुटपाट भएका छन् । जिल्ला प्रशासन र मालपोत कार्यालयमा प्रदर्शनकारीहरूले ढुंगामुढा गरे । सरकारी कार्यालयमा रहेका टेबल, कुर्सी, कम्प्युटर लगायतका समानहरू लुटेर लगिएको छ ।
प्रशासन र प्रहरीले गरेको क्षतिको विवरणअनुसार चन्द्रपुर नगरपालिकामा ३ करोड, मौलापुरमा ५ करोड, कटहरियामा १ करोड, फतुवाबिजयपुरमा ३ करोड ५० लाख, गौर नगरपालिकामा ६४ लाख र गरुडा नगरपालिकामा ८५ लाखको क्षति भएको अनुमान छ । डिभिजन वनमा २ करोड ५० लाख, प्रदेश लेखा कार्यालयमा २ करोड ६० लाख, सडक डिभिजनमा ६ करोड रुपैयाँको क्षति भएको छ । जिल्ला अदालत, मालपोत, करदाता, नापी र अनुसन्धान कार्यालयहरूमा पनि क्षति पुगेको छ ।
अधिकांश सरकारी कार्यालयको सामानमा आगजनी भएको छ । सबै तोडफोड, आगजनी र लुटपाटमा जेन–जीको संलग्नता नरहेको बताइएको छ । प्रदर्शनकारीले सबैभन्दा पहिले चन्द्रनिगाहपुरमा रहेको इलाका प्रहरी र नगरपालिकामा तोडफोड, आगजनी र लुटपाट गरेका थिए । यससँगै जिल्ला प्रहरी कार्यालय, गौरसहित आठ वटा प्रहरी युनिटमा आगजनी र तोडफोड भएको छ ।
इलाका प्रहरीमा करिब २ करोड १४ लाख रुपैयाँको क्षति भएको प्रहरीले जनाएको छ । शिवनगर, हर्षाहा, गरुडा, सुकदेवाचोक, बंकुल र चन्द्रपुर तल्लो बजारका प्रहरी चौकीहरूमा पनि क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सरकारी सम्पत्तिमा भएको लुटपाट र आगजनीको छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउने बताए ।
