वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक भएको बताए ।
वीरगञ्ज — वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक भएको बताए । ‘साउन महिनामा कार्यालयले १८ अर्ब ४४ करोड राजस्व संकलन गरेको थियो’, उनले भने, ‘जेनजी समूहको आन्दोलनले भदौ महिनाको एक दिन राजस्व संकलन ठप्पजस्तै हुँदा पनि राजस्व संकलनमा वृद्धि भएको छ । भदौ महिनामा मात्रै मासिक लक्ष्यको ९३ दशमलव ९७ प्रतिशत राजस्व संकलन गरेका छौं ।’
वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड राजस्व संकलन गरेको छ । त्यस्तै गरी भदौ १७ गते एक खर्ब ९२ करोड राजस्व संकलन गरेको छ । त्यस्तै भदौ २८ गते एक अर्ब ७१ करोड र भदौ ३१ गते भने एक अर्ब ११ करोड राजस्व संकलन गरेको छ । त्यस्तै जेनजी समूहको प्रदर्शनका दिन भदौ २४ गते रु तीन करोड, भदौ २५ गते भने शूल्य राजस्व संकलन भएको छ ।
त्यस्तै भदौ २६ गते छ करोड र भदौ २७ गते भने रु ११ करोड राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले साउन महिनामा रु १८ अर्ब ४४ करोड राजस्व संकलन गर्यो भने भदौ महिनामा भने रु २० अर्ब १२ करोड राजस्व संकलन गरेको छ ।
