आन्दोलनले वीरगन्ज भन्सारको राजस्व असुली लक्ष्य प्रभावित

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जेनजी आन्दोलनले भन्सारको नियमित कामकाज प्रभावित हुन पुगेकाले भदौ महिनामा लक्ष्य भेट्टाउन नसकिएको बताए ।

आश्विन १, २०८२

शंकर आचार्य

The protest affected the revenue collection target of Birganj Customs

What you should know

पर्सा — जेनजी आन्दोलनले प्रभावित भएको भदौ महिनामा वीरगन्ज भन्सार कार्यालयले मासिक राजस्व असुली लक्ष्य ९४ प्रतिशत मात्र पूरा गरेको छ ।

जेनजी आन्दोलनले प्रभावित भएको भदौ महिनामा वीरगन्ज भन्सार कार्यालयले मासिक राजस्व असुली लक्ष्य ९४ प्रतिशत मात्र पूरा गरेको छ । यो महिनामा २२ अर्ब ५ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा यो भन्सारले २० अर्ब ५२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जेनजी आन्दोलनले भन्सारको नियमित कामकाज प्रभावित हुन पुगेकाले भदौ महिनामा लक्ष्य भेट्टाउन नसकिएको बताए । ‘आन्दोलनले भन्सार दुई दिन बन्द भयो, त्यस पछिका दुई दिन पनि आंशिक प्रभावित रह्यो,’ उनले भने, ‘नियमित रुपमा सञ्चालन हुन पाएको भए यो भन्सारले लामो समयपछि मासिक राजस्व असुली लक्ष्य भेट्टाउने थियो ।’ 

देशकै प्रमुख यो भन्सारले लामो समयदेखि मासिक तथा वार्षिक राजस्व असुली लक्ष्य भेट्टाउन सकिरहेको छैन । असोज महिनामा पनि भदौ महिनाकै हाराहारी राजस्व असुलीको लक्ष्य रहेकोमा यो महिनामा सार्वजनिक बिदा परेकाले लक्ष्य भेट्टाउन निक्कै चुनौती रहेको उनले बताए । ‘यो नाकाबाट चाडपर्व लक्षित सामानहरु भित्रिन थालिसकेकाले यो महिनाको राजस्व असुली उत्साहजनक हुने अनुमान गरिए पनि लक्ष्य भेट्टाउन भने चुनौती नै छ,’ उनले भने, ‘नियमित रुपमा आयात हुनेबाहेक तयारी कपडा, लक्ष्मीपूजाका सामग्री, मदिरा, नयाँ सवारी साधन आदि चाडपर्व लक्षित मालसामान भित्रिने क्रम बढेको छ ।’

यो भन्सारमा राजस्व असुलीमा सर्वाधिक योगदान गर्ने बस्तु इन्धन र नयाँ सवारी साधन हो । त्यसपछि मदिरा, औद्योगिक कच्चा पदार्थ, फलामजन्य वस्तु आदिले राजस्वमा योगदान गर्छन् ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully