सिरहामा लयमा फर्किँदैछ जनजीवन, उठ्दैछ सरकारी कार्यालय

सिरहामा १६ प्रहरीसहित ४१ सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ, जसले एक अर्बभन्दा बढीको क्षति पुर्‍याएको छ।

आश्विन १, २०८२

विनय आजाद

Life is returning to normal in Siraha, government offices are opening

What you should know

सिरहा — जेन-जी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीका कारण देशभरको अवस्था अस्तव्यस्त बन्यो । आन्दोलनकारीले २४ गते खासगरी राजनीतिक दलका नेताका घरसँगै सरकारी कार्यालयलाई निशाना बनाए ।

सिरहामा मात्रै ४१ वटा सरकारी कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भयो । जसमा १६ वटा त प्रहरी कार्यालय नै परे । नागरिकको नजिक मानिने स्थानीय तहका कार्यालयमा पनि व्यापक क्षति भयो । जिल्लाका १७ वटा स्थानीय तहमध्ये १० वटामा पूर्ण क्षति र २ वटामा आंशिक क्षति पुगेको सरकारी तथ्याङ्क छ ।

जिल्ला प्रशासन कार्यालय, सिरहाका अनुसार जिल्लाभर यसबाट एकै दिनमा एक अर्बभन्दा धेरैको क्षति भएको छ । 

जिल्ला प्रशासन कार्यालय, सिरहाले २६ गते एक सूचना जारी गर्दै आवश्यक समन्वय, सहजीकरण र सहकार्य गरी २९ गतेदेखि सम्भव भएसम्मको सेवा प्रवाहमा जुट्न जिल्लाभरका कार्यालयलाई निर्देशन दिएको थियो । असोज १ बाट भने जिल्ला प्रशासनले पूर्ण सेवा सुरु गर्दैछ ।

जिल्लाका अन्य कार्यालयहरू पनि क्रमशः तंग्रिँदै गएका र सेवा प्रवाहको दायरा बढाउँदै लगेको सिरहाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । यस्तै, आन्दोलनका क्रममा विस्थापित भएका सबै प्रहरी कार्यालय पुनः सञ्चालनमा आएका छन् ।

प्रहरी नभएपछि असुरक्षित महसुस गर्दै स्थानीयहरूले नै प्रहरीलाई स्वागत गरी कार्यालय फर्काएको अधिकारीले जनाए । यससँगै जिल्लाभर ठप्प बनेका गतिविधि विस्तारै चलायमान बन्दै जनजीवन लयमा फर्किँदै गएको उनले बताए ।

'आन्दोलनपछि अन्योलताको स्थिति बन्यो, तर हामीसँग जे थियो, त्यसैबाट थाल्ने र उठ्ने प्रयत्न गर्‍यौं,' प्रजिअ अधिकारीले कान्तिपुरसँग भने, 'अहिले जिल्लाको स्थिति क्रमशः लयमा फर्किँदै गएको छ । हामी पुरानै स्थितिमा फर्किन जोडतोडले लागिपरेका छौं । यसमा सबैको सहयोगको अपेक्षा गर्छौं ।'

जिल्ला प्रशासनले भदौ २७ गते सूचना जारी गरी आन्दोलनका क्रममा लुटपाट गर्नेहरूको पहिचान सामाजिक सञ्जालमा स्पष्ट देखिएको भन्दै लुटिएका सामग्री फिर्ता गर्न र नगरे प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको थियो ।

तर लहानस्थित खाद्य संस्थानबाट लुटिएका सामग्री फिर्ता हुने क्रममा रहे पनि अन्य ठाउँबाट खासै फिर्ता नभएको भन्दै प्रमुख जिल्ला अधिकारीले फिर्ता गरिदिन आग्रह गरे । 'जनताकै सम्पत्ति हो । हामीले त्यसबाट जनतालाई नै सेवा दिने हो,' उनले भने, 'त्यसैले फिर्ता हुनुपर्छ । अन्यथा कानुन बमोजिम भइजानेछ ।'

यस्तै, आन्दोलनका नाममा राजनीतिक र व्यक्तिगत रिसइवीका कारण सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने काम भएको भन्दै यसमा संलग्नहरूको फोटो तथा भिडियो संकलन गरी अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully