मधेश सरकारबाट जनमत बाहिरिएको पत्र प्रदेश सभामा, नेतृत्वका लागि ठूला दलको कसरत सुरु

जनमतले समर्थन फिर्ता लिएसँगै अब मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने अवस्था आएको छ । ठूला दलहरू नेतृत्वको लागि आन्तरिक तयारीसमेत गरिरहेका छन् ।

भाद्र ३१, २०८२

कमलेश ठाकुर

The Madhesh government's exit from the public opinion in Patra Provincial Assembly, the exercise of big parties for leadership has begun

What you should know

जनकपुरधाम — जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र मधेश प्रदेश सभामा पुगेको छ । मंगलबार संसदीय दलका नेता महेशप्रसाद यादवले सभामुख रामचन्द्र मण्डललाई सरकारबाट समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

गएको शनिबार पार्टीले सरकारमा रहेका मुख्यमन्त्री र मन्त्रीलाईसमेत फिर्ता बोलाउने निर्णय लिएको थियो । यादवले बुझाएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ । दलका नेता यादवका अनुसार वर्तमान राजनीतिक परिस्थितिका कारण सरकारबाट बाहिरिने निर्णय गरिएको बताए ।

यसअघि जनमतले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पनि विद्युतीय माध्यमबाट समर्थन फिर्ता,मुख्यमन्त्री र मन्त्रीहरू फिर्ता बोलाएको जानकारी दिइसकेको छ । जेन–जीको अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शन पछि मुख्यमन्त्री सतिशकुमार सिंहले पार्टीको निर्देशन अनुसार राजीनामा दिएका थिए । तर प्रदेशसभा विघटन नभएपछि उनले पुनः पद नछोड्ने अडान लिँदा जनमत पार्टीको आलोचना हुन थालेको थियो ।

जनमत पार्टीबाट मधेश सरकारमा मुख्यमन्त्रीमा सतिशकुमार सिंह, वन तथा वातावरणमन्त्रीमा सञ्जय यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीमा वसन्त कुशवाहा सहभागी थिए । जनमतले समर्थन फिर्ता लिएसँगै अब मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने अवस्था आएको छ । ठूला दलहरू नेतृत्वको लागि आन्तरिक तयारीसमेत गरिरहेका छन् ।

तथापि केन्द्रीय नेताहरूले यस विषयमा धारणा सार्वजनिक नगरेको र कानुन प्रक्रिया सुरु नभएको हुनाले नेतृत्वको लागि इच्छुक पार्टीका नेताहरू खुलेर बोलिरहेका छैन ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारलाई नेकपा एमाले, नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सत्ता साझेदार दल छ भने जनता समाजवादी पार्टी (जसपा)नेपाल,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,राप्रपा,नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति प्रतिपक्षमा थिए ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully