पुरानो मितिमा जनमतका मन्त्रीको राजीनामा, मुख्यमन्त्री सिंह विश्वासको मत लिने अडानमा

उद्योग वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवको राजीनामा आज (मंगलबार) साँझ सार्वजनिक भएको हो ।

भाद्र ३१, २०८२

कमलेश ठाकुर

Resignation of Minister of Public Opinion on old date, Chief Minister Singh Biswas on stand to take vote of confidence

जनकपुरधाम — मधेश सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्रीको राजीनामा पुरानो मितिमा आज सार्वजनिक भएको छ ।

उद्योग वाणिज्य तथा पर्यटनमन्त्री वसन्त कुशवहा र वन तथा वातावरणमन्त्री सञ्जयकुमार यादवको राजीनामा आज (मंगलबार) साँझ सार्वजनिक भएको हो ।

जेन–जी प्रदर्शनको दोस्रो दिन भदौ २४ गतेको मितिमा राजीनामा दिएको विज्ञप्ति सार्वजनिक भएको छ । तर दुवै जना मन्त्रीहरूले आफ्नो आधिकारिक फेसबुकमासमेत आज नै सार्वजनिक गरेका छन् ।

त्यसअघि जनमत पार्टीको मधेश प्रदेश संसदीय दलको नेताले गएको शनिबार नै मुख्यमन्त्री सतिशकुमार सिंहसहित दुवै जनालाई फिर्ता बोलाएको प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाएका थिए । आज दिउँसो मधेश प्रदेशसभामा पनि सभामुख रामचन्द्र मण्डललाई जनमत संसदीय दलको नेताले सरकारबाट समर्थन फिर्ता लिएको र मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई फिर्ता बोलाएको पत्र बुझाएका थिए । त्यसपछि उनीहरूले राजीनामा दिएको विज्ञप्ति सार्वजनिक गरेका छन् ।

जनमतका दुई मन्त्रीले राजीनामा दिए पनि मुख्यमन्त्री सिंह अहिलेसम्म राजीनामा दिएका छैनन् । उनले भदौ २४ गते आफ्नो फेसबुकबाट राजीनामा घोषणा गरेका थिए । तर, प्रदेशसभा विघटन नभएपछि उनले पद नछोड्ने अडानमा बसेका थिए । जनमत नेतृत्वको सरकार र पार्टीको आलोचना हुन थालेपछि पार्टीले फिर्ता बोलाउने प्रक्रिया अगाडि बढाएका थिए ।

तर, मुख्यमन्त्री सिंह विश्वासको मत लिने अडानमै रहेको देखिन्छ । उनले हालसम्म लिखित राजीनामा दिएका छैनन् । उनी विश्वासको मत लिने अडानमा रहेको बुझिएको छ । 

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully