वीरगन्ज महानगर कार्यालयमा मात्रै १ अर्ब १५ करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट ।

भाद्र ३१, २०८२

शंकर आचार्य

The preliminary estimate is that the damage is more than 1 billion 150 million only in Birgunj Metropolitan Office

What you should know

पर्सा — जेनजी आन्दोलनका क्रममा गत मंगलबार वीरगन्ज महानगरपालिका कार्यालयमा गरिएको तोडफोड,आगजनी र लुटपाटबाट १ अर्ब १५ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

मंगलबार महानगरपालिका कार्यालयको सभाकक्षमा बसेको नगरपरिषद्‍को बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त अनुमानित क्षतिबारे उल्लेख गरिएको हो ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको तोडफोड र आगजनीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएको उक्त प्रतिवेदनमा गरिएको उल्लेख छ। महानगरका चारवटा वडा कार्यालय र केही स्वास्थ्य संस्थामा पनि तोडफोड र आगजनी गरिएको र त्यसको क्षतिको विवरण अझै संकलन भइरहेको जनाइएको छ ।

महानगरपालिका कार्यालय भवन, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा गरिएको तोडफोड,आगजनी र लुटपाटबाट भएका क्षतिको पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्यांक सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत कर्णले बैठकमा जानकारी गराएका थिए । बैठकले जेनजीको आन्दोलनका क्रममा वास्तविक जेनजीले भन्दा पनि बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत कर्णले बैठकमा जेनजी युवाहरूका नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको जानकारी पनि गराएका थिए । उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने निर्णय पनि नगरपरिषद् बैठकले गरेको छ ।

यसैबीच नगरपरिषद् बैठकले आर्थिक वर्ष २०८२र ०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ। त्यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाउने तयारी पनि गरिँदैछ ।

बैठकमा महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, कार्यपालिका सदस्य, वडाध्यक्ष तथा विभागीय प्रमुखहरूले आ–आफ्ना सुझाव राख्दै पुनर्निर्माणको कामलाई ढिलाइ नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए। बैठकले हालको असामान्य परिस्थितिमा वीरगन्ज महानगरपालिका कार्यालयको सेवालाई फेरि सुचारु बनाउन र जनताको सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता प्रकट गरेको छ।

गत मंगलबार जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनमा महानगरपालिका कार्यालय तथा भवन, वडा कार्यालयमा तोडफोड र आगजनी गरिँदा कार्यालयका कागजात, फर्निचर, कम्प्युटरलगायतका सामग्री जलेर खरानी भएका थिए। महानगर प्रमुख सिंहको निजी निवासमा पनि आगजनी गरिएको थियो।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully