आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना जनकपुरबाट पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोकसेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई सोमबार पक्राउ गरिएको हो ।

भाद्र ३०, २०८२

रासस

जनकपुरधाम — ‘जेनजी’ को अगुवाईमा भएको आन्दोलन पछिको प्रदर्शनका क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक सेवा आयोगको कार्यालयबाट लुटिएको हतियारसहित दुईजनालाई आज पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आयोगको कार्यालयमा सुरक्षार्थ खटिएका नेपाल प्रहरीको एकथान एसएलआर राइफलसहित उपमहानगरपालिका वडा नं ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कार्यालय तोडफोड, आगजनी र लुटपाट गर्ने क्रममा प्रहरीसँग रहेको ५० राउण्ड गोलीसहित एकथान राइफलसमेत लुटिएकामा ‘सिसिटिभी’ भिडियोका आधारमा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । 

भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारपाङ्ग्रे गाडी चारथान, मोटरसाइकल चारथान, सिसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । 

रासस

Link copied successfully