आगजनीका लागि पेट्रोल किन्न उनले नै पैसा दिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
सिरहा — भ्रष्टाचार, बेथिति र नेताका अनियमितताविरुद्ध जेन-जीको अगुवाइमा २३ भदौमा काठमाडौंसहित देशका विभिन्न सहरमा प्रदर्शन भयो । २४ गते भने प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गरे ।
जेन-जीका नाममा घुसपैठ भएको र अराजक एवं स्वार्थ समूहले विध्वंस मच्चाएको आन्दोलनकै आयोजकहरूले बताउँदै आएका छन् । सिरहाको कल्याणपुर नगरपालिकामा पनि यस्तै भएको छ ।
नगरपालिकाको कल्याणपुरस्थित कार्यालयमा त्यस दिन बिहान ४०-५० जनाको एउटा समूह आयो, जसमा युवादेखि पाका उमेरसम्मका मानिस थिए । प्रहरीले रोक्ने प्रयास गरे पनि उनीहरूले कार्यालयमा लुटपाट र तोडफोड मच्चाउँदै आगजनी गरे । नगरपालिकाका अनुसार, कार्यालयको कोठा-कोठामा पसेर उनीहरूले कागजातदेखि जिन्सीसम्मका सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेका छन् भने अधिकांश सरसामान लुटेर लगेका छन् ।
नगरपालिकाको ट्याक्टर र जेनेरेटरलगायत आगजनीबाट पूर्ण रूपमा जलेको छ भने कार्यालयभित्रको केही दराज, टेबल, सोफा, कम्प्युटर, कुर्सीमा तोडफोड र आगजनी भएको छ । यसबाट करिब दुई करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको नगरपालिकाले जनाएको छ ।
सार्वजनिक सम्पत्तिमाथि यसरी उपद्रव मच्चाउने कार्यमा संलग्नता भने जनप्रतिनिधिकै रहेको पाइएको छ । कल्याणपुर नगरपालिका-९ का वडाध्यक्ष विनोदकुमार यादवले लुटपाट मच्चाउने भिडको अगुवाइ गरेको खुलेको छ । नगरपालिकामा तोडफोड र लुटपाट भएका बेलाको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्, जसमा उनले भिडलाई उक्साइरहेको प्रस्ट देखिन्छ ।
नगरपालिकामा आगजनी, तोडफोड र लुटपाट गर्न वडाध्यक्ष यादवले नै भिडलाई उक्साएको स्थानीय प्रत्यक्षदर्शी धनुष मण्डलले पनि बताए । आगजनीका लागि पेट्रोल किन्न उनले नै पैसा दिएको कुरा त्यहाँ सुनेको उनको दाबी छ । 'म त्यहीँ थिएँ, प्रहरीले पनि रोक्न धेरै कोसिस गर्यो, हामीले पनि गर्यौं,' उनले भने, 'तर, भिडलाई यसरी उक्साइयो कि क्षणभरमै त्यति ठूलो क्षति भयो, यो घटनामा उनी पर्दामा देखिए पनि पर्दाभित्र अरू पनि छन्, यहाँका सबैलाई थाहा छ ।'
कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एक लाख रुपैयाँ घुससहित अख्तियारद्वारा पक्राउ परेर निलम्बनमा परेपछि उनी निकट रहेका वडाध्यक्ष यादवले नगरपालिकामा पटकपटक विवाद गर्ने प्रयास गर्दै आएका थिए । तर, यसपल्ट भने आन्दोलनको फाइदा उठाउँदै उनले यस्तो गरेको कार्यवाहक नगरप्रमुख रेखा देवी यादवले बताइन् ।
नगरपालिकामा उपद्रव मच्चाएको समूहले नै छेउमै रहेको वडा ११ को कार्यालय र इलाका प्रहरी कार्यालय, कल्याणपुरमा पनि तोडफोड, आगजनी र लुटपाट गरेको थियो । यो कामको जति निन्दा गरेपनि कम हुने वडाध्यक्ष प्रमेश्वर साह बताउँछन् । 'म बाहिर थिएँ, तर वडाध्यक्ष यादवसँगै यतैका अमरनाथ साहलगायतले घटना गराएको सुनेँ,' उनले कान्तिपुरसित भने, 'जनप्रतिनिधि भएर यस्तो गर्नु अक्षम्य काम हो, यसको छानबिन र दोषीमाथि कारबाही हुनुपर्छ ।'
वडाध्यक्ष यादवले घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । नगरपालिकामा घटना भएपछि हेर्नका लागि आफू त्यहाँ गएको दाबी उनको छ । 'घटना भएपछि म त्यहाँ हेर्न गएको हुँ, अरु केही होइन,' उनले भने, 'म त्यहाँ देखिएर कसैले आरोप लगाइरहेका होलान् ।'
यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तोडफोड, आगजनी र लुटपाट भएको बेलाको भिडियो तथा फोटो प्राप्त भएको र त्यसका आधारमा बुझ्ने काम भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी निरीक्षक धीरज पटेलले जनाए ।
आन्दोलनमा सिरहाका तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आक्रमण भएको थियो । अवस्था सामान्य बन्दै गएपछि प्रहरीले कहाँ-कहाँ तोडफोड, आगजनी र लुटपाट भयो, त्यसबाट कति क्षति भयो र यसमा को-को संलग्न थिए भन्ने विवरण खोजिरहेको छ ।
