जनमत पार्टीले फिर्ता बोलायो मधेसका मुख्यमन्त्री र मन्त्रीलाई

भाद्र २८, २०८२

कमलेश ठाकुर

जनकपुरधाम — मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले मुख्यमन्त्रीसहित मन्त्री फिर्ता बोलाएको छ । शनिबार संसदीय दलको नेता महेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित मन्त्रीहरु मधेश सरकारबाट फिर्ता बोलाएका हुन् । उनले सरकारलाई दिएको सर्मथन पनि फिर्ता लिएको जानकारी दिए । मुख्यमन्त्री र मन्त्री फिर्तासम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । 

गएको सोमबार जेनजी प्रदर्शन हुँदा मंगलबार मुख्यमन्त्री सतिशकुमार सिंहले फेसबुकमै राजीनामा दिएका थिए । प्रदेश प्रमुखको कार्यालयमा लिखित राजीनामा दिएका थिएनन् । आज केही सञ्चारमाध्यममा मुख्यमन्त्री सिंहले राजीनामा नदिने अडान लिएपछि पुनः जनमत पार्टीको आलोचना सुरु भएको थियो ।

मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारमा एमाले, कांग्रेस र लोसपा सत्तासाझेदार छन् भने जसपा नेपाल, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेसंस र नाउपा प्रतिपक्षमा थिए ।

सरकारमा जनमत पार्टीबाट वन तथा वातावरण मन्त्रालयमा सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी बसन्त कुशवाहाले लिएका थिए ।

कमलेश ठाकुर कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully