पुनको आविष्कार केन्द्र पाउडर कोटिङ मेसिन बनाउँदै

भाद्र २८, २०८२

शंकर आचार्य

पर्सा — राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जमा पाउडर कोटिङ मेसिन निर्माण थालेको छ । कारखानाबाट उत्पादन हुने कृषि औजारलाई रङ्गाउन यो उपकरण उपयोगी हुनेछ ।

केन्द्र वीरगन्जका प्रमुख तथा इन्जिनियर रितेश देवले केन्द्रले आफ्नै प्रयोगका लागि यो मेसिन तयार गर्न लागेको बताए । ‘पाउडर कोटिङ मेसिन निर्माणको काममा करिब ५० प्रतिशत सफलता मिलिसकेको छ,’ उनले भने, ‘सम्भवतः एक महिनाभित्र यो मेसिन निर्माण भइसक्छ ।’ 

यो मेसिनको उत्पादन लागत २० लाख रुपैयाँ रहेको इन्जिनियर देवको भनाइ छ । पछिल्लो समय केन्द्रले उत्पादन गरेको धान गोड्ने प्याडी विडर उपकरणको अत्यधिक माग आएको उनले बताए । स्टेनलेस स्टिलबाट बनाइएको यो उपकरणको मूल्य ४ सय ५० रुपैयाँ रहेको छ । यसै सिजनमा ६० वटाभन्दा बढी यो उपकरण बिक्री भइसकेको छ । 

धान रोप्ने हाते मेसिन राइस प्लान्टर, कोदो रोप्ने मिलेट प्लान्टर र माछा पालनमा उपयोगी हुने फिस इन्क्युवेटर तथा अक्सिजन टावरको उपकरण केन्द्रले बिक्री गरिरहेको छ ।

केन्द्रले जेठमै लेजर वेल्डिङ मेसिनका रुपमा नयाँ उपकरण कारखाना भित्र्याएको थियो । ३ हजार वाटको उक्त उपकरण १८ लाख रुपैयाँमा खरिद गरिएको हो ।

केन्द्रका अध्यक्ष एवम् वैज्ञानिक महावीर पुनले आत्मकथा पुस्तक बिक्री गरेर संकलन गरेको रकमबाटै हाल कारखाना सञ्चालनको सबै काम अघि बढेको उनले बताए । 

कारखानाले हालसम्म धान काट्ने रिपर, आलु खन्ने डिगर, आलु रोप्ने प्लान्टर, धान रोप्ने राइस प्लान्टर, गोबर पेल्ने डङ्ग डिवाटरिङ, प्लाष्टिक बनाउने मल्चर, सुक्खा घाँस काट्ने, धान गोड्ने, खन्ने मेसिनको सफल परीक्षण उत्पादन गरिसकेको छ ।

कारखानामा हाल तीन दर्जनभन्दा बढी जनशक्ति कार्यरत छन् । २०७९ माघ १ देखि केन्द्रले नेपाल सरकारबाट यो कारखाना आफ्नो जिम्मामा लिई सञ्चालन गरिरहेको छ । 

२०२४ सालमा तत्कालीन राजा महेन्द्रले शिलान्यास गरी सञ्चालनमा आएको कृषि औजार कारखाना २०४६ सालको परिवर्तनपछि रुग्ण अवस्थामा गएपछि २०४९ सालमा बन्द गरिएको थियो । नेपाल सरकारले वाचा गरेअनुसार कारखाना सञ्चालन गर्न २० करोड रुपैयाँ नदिएको गुनासो गर्दै केन्द्रका सञ्चालक वैज्ञानिक महावीर पुन आत्मकथा पुस्तक बेचेर उक्त रकमको जोहो गर्ने अभियानमा छन् । हालसम्म उनले पुस्तक बिक्रीबाट १२ करोड रुपैयाँभन्दा बढी संकलन गरिसकेका छन् ।

शंकर

Link copied successfully