बगाएर भारतमा लगेको अवस्थामा शव भेटियो
रौतहट — रौतहटको लालबकैया नदीमा बेपत्ता भएका किशोर र बालिकाको शव फेला परेको छ । लालबकैया नदीमा नुहाउने क्रममा बिहीबार र शनिबार बेपत्ता भएका दुवै जनाको शव भारतीय क्षेत्रमा फेला परेको हो ।
गएको बिहीबार ईशनाथ नगरपालिका–१ का १५ वर्षीय बिगन साह साथीहरूसँग लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । शनिबार बिहान जितिया पर्वको स्नान गर्न व्रतालुसँग गएकी गौर नगरपालिका–६ की १० वर्षीया करिश्मा साह पनि नुहाउने क्रममा लालबकैया नदीमा बेपत्ता भएको जिल्ला प्रहरीले जनाएको छ ।
लालबकैया नदीबाट दक्षिण भारतीय क्षेत्रमा दुवैको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गौरका डिएसपी राजु कार्कीले बताए । ‘नाबालिका करिश्माको शव भन्ने त पक्का जस्तै भएको छ । अर्को शव बिगनकै हुनुपर्छ,’ उनले भने, ‘हामीले भारतमा टोली पठाइसकेका छौँ । पारी समन्वय गरेर शव ल्याउँछौँ ।’
बिगन गाउँका पाँच जना साथीहरूसँग नदीमा नुहाउन गएका बेला घटना भएको हो । अचानक खोलामा आएको बाढीको भेलले पाँचै जनालाई बगाएको थियो । चार जना सकुशल बाहिर निस्के पनि बिगन बेपत्ता भएका थिए ।
शनिबार बिहान आमासँगै नुहाउन गएकी करिश्मा पनि बेपत्ता भएकी थिइन् । नदीमा बेपत्ता भएकी बालिकाको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय गोताखोर खटिएका थिए ।
