लयमा फर्किँदै वीरगन्ज भन्सार

भाद्र २७, २०८२

शंकर आचार्य

पर्सा– जेन–जी प्रदर्शनका कारण मंगलबार र बुधबार दुई दिन ठप्प रहेको मुलुकको प्रमुख भन्सार वीरगन्ज भन्सार विस्तारै लयमा फर्किँदै छ ।

बिहीबारबाट कामकाज सुरु गरेको यो भन्सार शुक्रबार भने सामान्य अवस्थामा सञ्चालन भएको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णु ज्ञवालीले बताए । 



बिहीबार ४२ इन्धन बोकेका ट्यांकर र ४४ वटा ग्याँस बुलेट जाँचपास गरी बाहिरिएका थिए । जसबाट १० करोड रुपैयाँ राजश्व संकलन भएको थियो । शुक्रबार अन्य वस्तुको पनि जाँचपास भएको उनले बताए । 



हाललाई पर्सा र बाराका लागि मात्र मालवस्तु जाँचपास गरेर मालबाहक सवारी साधन छोड्ने काम भएको उनले बताए । ‘हाललाई टाढाका मालबाहक सवारी साधन छोडेका छैनौं,’ उनले भने, ‘नजिकमा रहेको पर्सा र बाराका मालबाहक सवारी मात्र छोडेका छौं ।’ 



आकस्मिक रुपमा छोडिनुपर्ने अन्यत्रका मालबाहक सवारीसाधनलाई पनि छोडिएको उनले बताए । तुलनात्मक रुपमा बिहीबार भन्दा शुक्रबार भन्सारमा चहलपहल बढेको उनले बताए ।



राजश्व संकलनको दृष्टिले यो मुलुककै ठूलो भन्सार हो । भदौ महिनामा सामान्य दिनमा यो भन्सारले औसतमा ७० देखि ७२ करोड रुपैयाँ राजश्व संकलन गर्दै आएको थियो । भन्सार यार्डमा अझै पनि करिब १ हजार मालबाहक सवारी साधन रहेका छन् ।



राजश्वको दृष्टिले यो भन्सारमा राजश्वमा सर्वाधिक योगदान गर्ने वस्तु इन्धन र नया सवारी साधन हुन् । इन्धन बढी जसो भारतबाट पेट्रोलियम पाइपलाबाटै भित्रिने भएकाले बन्द, हड्ताले इन्धन आयात प्रभावित हुने अवस्था छैन ।


शंकर

Link copied successfully