तोडफोड र आगजनी हुन थालेपछि प्रहरी कार्यालय छाडेर सुरक्षित बसेको थियो ।
रौतहट — २४ भदौको तोडफोड र आगजनीले रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयमा क्षति पुगेपछि कर्मचारीले बाहिरै बसेर सेवा दिइरेहका छन् । आगजनी भएको भवनमा यतिबेला स्थानीय व्यापारी र युवाहरुले सफा गरिरहेका छन् ।
कार्यालयमा तोडफोड र आगजनी हुन थालेपछि प्रहरीले दुई दर्जन हवाई फायर गरेको थियो । तर स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरी कार्यालय छाडेर सुरक्षित बसेको थियो ।
अहिले प्रहरी नायब उपरीक्षक रुपा लाबुङ लगायतका प्रहरी कर्मचारीलाई बस्न, खान र सुत्न समस्या परेको छ । ‘हामी कहाा बस्ने भन्ने अन्योल छ । अहिले बाहिर बसेर जनताको काम गर्ने भन्ने सोचिरहेका छौं,’ उनले भनिन्, ‘अब शान्ति सुरक्षामा पनि खटिनुपर्नेछ । सबैभन्दा पहिले बस्ने ठाउँ छैन ।’ प्रदर्शनकारीले कार्यालयको सबै सवारी जलाइदिएका छन् । प्रहरीलाई गस्तीमा निस्कन समेत सवारी छैन । अहिले प्रहरीहरु कर्मचारीहरु जिल्ला ट्राफिकको जलेकै भवनमा बसेका छन् ।
प्रहरी बस्न र गस्ती गर्न समस्या परेपछि स्थानीय व्यापारी र स्थानीय युवाले आगजनी भएको कार्यालयको सरसफाइ र भत्किएको संरचना बनाउन लागिपरेका छन् । व्यापारी रुपेश साहले प्रहरी हाम्रो साथीकै रुपमा अहिले सहयोग गरिरहेको सुनाए ।
प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड र आगजनी गरेका थिए । त्यस्तै डिभिजन वन, सडक डिभिजन, मालपोत, जिल्ला प्रशासनमा पनि क्षति पुर्याएका छन् । चन्द्रपुर, मौलापुर, गौर, गरुडा, र कटहरिया नगरपालिकामा तोडफोड र आगजनी भएको छ ।
क्षेत्र नम्बर ४ का सांसद देवप्रसाद तिमल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारी र चन्द्रपुरका नगरप्रमुख संजय काफ्लेको घरमा तोडफोड र आगजनी भएको थियो । सदरमुकाम गौरस्थित कारागार फोडेर भागेका २९१ कैदीमध्ये ८२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँकी २०९ जना अझै फरार छन् ।
जिल्ला प्रशासन कार्यालय गौरले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले शुक्रबार बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए ।
