जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि कर्फ्यु जारी भएको हो ।
राजविराज — सप्तरीको राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकाको चार किल्ला क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।
युवा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्न थालेपछि मंगलबार बसेको जिल्ला सुरक्षा समिति बैठकको निर्णयअनुसार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि कर्फ्यु जारी भएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९ क– बमोजिम सप्तरी जिल्लाको राजविराज नगरपालिका र विष्णुपुर गाउँपालिकाको चार किल्ला क्षेत्रभित्र कर्फ्यू आदेश भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सूचना जारी गर्दै उल्लेख गरेका छन् ।
सूचनाअनुसार उत्तरमा रुपनी मोड, पूर्वमा बजरंगबली मन्दिर, कञ्चनपुर सडक हुँदै कोशी कर्नेल पम्प नहर, दक्षिणमा बरी नहर, पश्चिममा बरी नहर हुँदै बरही नहर चोक–छिन्नमस्ता मन्दिर जाने विष्णुपुर चोक हुँदै उत्तरमा राजविराजको सिरहा सडक र छिन्नमस्त मन्दिर सडक जोड्ने ठाउँदेखि पश्चिममा नाली हुँदै पुल्चोक जोड्ने सडकदेखि पूर्व रुपनी मोडसम्मका क्षेत्रलाई चार किल्ला तोकिएको छ ।
ती चार किल्लाभित्र आवतजावत, भेला, जुलुस, सभा, बैठक र घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश भएको सूचनामा उल्लेख छ ।
