वीरगन्जमा १८ घण्टायता हैजा संक्रमित थपिएनन्

१८ घण्टाको अवधिमा महानगरका विभिन्न अस्पतालमा झाडापखालाका २१ बिरामी मात्र सम्पर्कमा आएका छन् ।

भाद्र २१, २०८२

शंकर आचार्य

No new cholera infected in Birganj since 18 hours

पर्सा — वीरगन्ज महानगरपालिकामा १८ घण्टामा हैजा संक्रमित थपिएका छैनन् । तथ्यांकअनुसार शनिबार बिहान ५ बजेसम्ममा वीरगन्ज महानगरमा १ सय ९२ हैजा संक्रमितको संख्या पुगेकामा तीमध्ये १ सय ७५ उपचारपछि घर फर्किएका छन् । १७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

१८ घण्टाको अवधिमा महानगरका विभिन्न अस्पतालमा झाडापखालाका २१ बिरामी मात्र सम्पर्कमा आएका छन् ।

महागनर कार्यालयले शनिबार बिहान १० बजे सार्वजनिक गरेको तथ्यांक अनुसार महागनर क्षेत्रमा हैजा संक्रमितको संख्या १ सय ९२ रहेको छ । शनिबार साँझ ५ बजे पनि १ सय ९२ नै थियो ।

पोखरियामा पनि १४ भन्दा बढी संक्रमित थपिएका छैनन् । नारायणी अस्पतालका प्रवक्ता डा उदयनारायण सिंहले पूर्वअनुमान गरिएजस्तै हैजा संक्रमण बिस्तारै न्यून हुँदै गएको बताउँछन् । १८ घण्टामा एउटा पनि नयाँ संक्रमित नथपिनुले पनि यस्तै संकेत गरेको उनले बताए । तुलनात्मक रुपमा झाडापखालाका नयाँ बिरामीको संख्या पनि दैनिक कम हुँदै गएकाले अबको केही दिनमा झाडापखाला र हैजा दुवैका बिरामी थपिने दर पनि करिब बन्द हुने उनको भनाइ छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully