मेयर यादवको विवादित भनाइ : नगरपालिकाबाट निर्णय भएकै छ, कतै छाडा चौपाया भेटिए नियन्त्रणमा लिएर जरिवाना तिराउनु, नतिरे खाइपकाइहाल्नु ।
सिरहा — सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले सडकबाटामा भेटिने छाडा चौपायालाई नियन्त्रणमा लिएर यसका धनीसँग जरिवाना तिराउन र नतिरे खाइहाल्न निर्देशन दिएका छन् । मेयर यादवले नगरपालिकाका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।
सिरहा नगरपालिका-११ भलुवाहीमा गत बुधबार आयोजित सरसफाइ कार्यक्रमका क्रममा कर्मचारीलाई निर्देशन दिँदै उनले दिएको यो अभिव्यक्तिको भिडियो अहिले समाजिक सञ्जालमा विवादित बनिरहेको छ ।
मेयर यादवले त्यसमा भनेका छन्, 'नगरपालिकाबाट निर्णय भएकै छ, कतै छाडा चौपाया भेटिए नियन्त्रणमा लिएर जरिवाना तिराउनु, नतिरे खाइपकाइहाल्नु ।' नगरपालिकाले सरसफाइ अभियान चलाउने गरेको भए पनि त्यसको ठीकसँग कार्यान्वयन हुन नसकेको स्थानीयको गुनासोपछि उनले यो कुरा बोलेका थिए ।
राज्यले नागरिकलाई सचेत बनाउन नीतिगत काम गर्नुपर्नेमा मेयर यादवले झन् अराजकता निम्त्याउने अभिव्यक्ति दिएको सिरहाका अरविन्द यादव बताउँछन् । 'नागरिकमा चेतनाको कमी छ,' उनले भने, 'राज्यले त्यो ठीक गर्ने हो, झन् अराजकता बढाउने होइन ।' यस विषयमा कुरा गर्न मेयर यादवलाई फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
