चाँदी नदीको पुल निर्माण १५ दिनभित्र सक्न स्थानीयको चेतावनी

२०७६ मै सकिनुपर्ने पुल अधुरै छ । १५ दिनभित्र निर्माण केर सञ्चालनमा नआए कार्यालयमा तालाबन्दी, धर्नालगायत सडक आन्दोलनमा जाने स्थानीयले चेतावनी दिएका हुन् ।

भाद्र २१, २०८२

शिव पुरी

Locals warn to complete construction of Chandi River bridge within 15 days

What you should know

रौतहट — गैंडाटार–चन्द्रनिगाहपुर जोड्ने चाँदी नदीको पुल निर्माणको काम १५ दिनभित्र सक्न स्थानीयले चेतावनी दिएका छन् । निर्माण सुरु भएको आठ वर्षमा ७५ प्रतिशत मात्र काम भए पछि चन्द्रपुर–३ का बासिन्दाले सडक डिभिजन कार्यालय र ठेकदारलाई १५ दिनभित्र काम सक्न चेतावनी दिएका हुन् ।

२०७४ असार ३१ गते २५ करोड ३६ लाखमा २४ हजारमा सम्झौता भएको यो पुल निर्माण २०७६ असार ३१ मा सकिनुपर्ने थियो । पछिल्लो समय पुल अलपत्र छाडिएपछि आक्रोशित स्थानीयले बुधबार सडक डिभिजन कार्यालयमा ज्ञापन दिएर १५ दिनभित्र निर्माण सकिएर सञ्चालनमा नआए कार्यालयमा तालाबन्दी, धर्नालगायत सडक आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

पुलको काम छाडेर ठेकदार चुपबसे पछि समृद्ध गैंडाटार निर्माण अभियानले सडक डिभिजन रौतहटका प्रमुख अरुणकुमार लालकर्णलाई कार्यालयमै भेटेर ठेकदार कम्पनी पप्पु कन्स्ट्रक्सन र रौतहटको शिवशंकर जेभीलाई तत्कालै काम सुरु गर्न अल्टिमेटम दिएको हो । अभियानका सदस्य मानध्वज थिङले तीन वर्षमा निर्माण सक्नुपर्ने पुल अलपत्र पारेर ठेकेदार चुप बसेको आरोप लगाए । ‘हामीले १५ दिनभित्र काम सकेर पुल सञ्चालनमा ल्याउनुपर्ने भनेर ज्ञापनपत्र बुझाइसकेका छौं । फेरि पनि अटेर गरे आन्दोलनमा जान्छौं,’ उनले भने । पुल नहुँदा वर्षाको बेला जोखिम मोलेर वारपार गर्दा स्थानीयले सास्ती खेप्नु परेको उनले बताए ।

पप्पु कन्स्ट्रक्सन र शिवशंकर जेभीले ठेक्का लिएका रौतहटमा मात्रै ५ वटा पुल अधुरा छन् । सडक डिभिजनले ठेक्का तोड्नेभन्दा पनि फकाएर काममा जोड्ने तयारीमा लागेको जनाएको छ । गैंडाटार पुल अलपत्र छाडेपछि २०८० जेठ १४ गते स्थानीय निर्माणाधीन पुलमुनि त्रिपाल राखेर अनशन बसेका थिए । त्यसैबेला तत्कालीन डिभिजन प्रमुख दरोगा प्रसादले तत्कालै ठेकदारलाई काम सुरु गराउने प्रतिबद्धता जनाएका थिए । ठेकेदारसित मिलेर पुल अलपत्र छाडेको भनेर स्थानीयबाट प्रमुख दरोगामाथि हातपात र आक्रमणको प्रयास समेत भएको थियो । ठेकेदार दयाराम साहले विगतमा कोभिड र अन्य कारणले समयमा काम सम्पन्न गर्न नसकेको बताए । ‘काम सम्पन्न गर्नकै लागि ठेक्का लिएको हो । प्राविधिक र आर्थिक कारणले समयमा सम्पन्न हुन सकेन्,’ उनले भने ।

सडक डिभिजनले गैंडाटार पुलको बाँकी काम सक्न ठेकेदारसित समन्वय भइरहेको जनाएको छ । जिल्लाका विभिन्न नदीमा निर्माणको क्रममा रहेका पुल लामो समयसम्म सम्पन्न हुन सकेको छैनन् । स्थानीयको दबाब र ठेकेदारले काममा बेवास्ता गरेपछि पछिल्लो समय सडक डिभिजन कार्यालयले ठेक्का तोड्ने वा अरु उपाय लगाउने भन्ने निर्णयमा पुगिनसकेको सडक डिभिजन प्रमुख अरुणकुमार लालकर्णले बताए । ‘सरकारले भनेको बेला बजेटको पनि व्यवस्था गर्न सकेको छैन, दोस्रोपटक ठेक्का लागेको टिकुलिया पुलको पनि हालत उस्तै छ,’ उनले भने,‘बजेट र ठेकेदारको रफ्तारले गर्दा अरु सबैले सास्ती भोग्नुपरेको छ । यसले हामी पनि तनावमा छौं । ठेक्का तोडौं प्रक्रिया झनै लामो हुन्छ, नतोडौं वर्षौंदेखि कामै गर्दैनन् ।’

वीरगन्जको पप्पु कन्स्ट्रक्सन र रौतहटको शिवशंकर जेभीले २०७३ जेठ २६ गते सम्झौता गरेको गुजराखोला, ब्रह्मटोल, कोटिहारपुल निर्माणको ठेक्का पनि नौ वर्षको अवधिमा ६० प्रतिशतमात्र काम गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । २०७५ असोज १५ गते निर्माणको काम सक्नुपर्ने पिपरिया दोस्तियाको तरहरी खोला पुलको अहिलेसम्म ४५ प्रतिशत मात्र काम भएको छ । यो पुल २०७३ असोज ६ गते सम्झौता भएको थियो । २०७५ वैशाख २७ गते सक्नुपर्ने सम्झौता उल्लेख भएको लौकाहा खोलाको पुलको भौतिक प्रगति ५५ प्रतिशत मात्रै छ । यी सबै पुलको पटक/पटक म्याद थपेर पनि ठेकेदारले सम्पन्न गर्न नसकेको डिभिजन प्रमुख कर्णले बताए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully