न्यायाधीश कमलकान्त जोशीको इजालासले बिहीबार थुनछेक बहसपछि साहसँग ५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
पर्सा — संघीय खानेपानीमन्त्री प्रदीप यादवलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेकी टिकटकर किरण साहलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालतका स्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार न्यायाधीश कमलकान्त जोशीको इजालासले बिहीबार थुनछेक बहसपछि साहसँग ५ हजार रुपैयाँ धरौटी माग गरेको हो ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले अदालतको प्रक्रिया टुंग्याएर उनी जिल्ला प्रहरी कार्यालयमा आएर आफ्नो सरसामान लिएर जान सक्ने बताए । पर्सा प्रहरीले साहलाई बिहीबार थुनछेक बहस प्रयोजनका लागि जिल्ला अदालतमा पेस गरेकोे थियो । साहलाई शनिबार पर्सा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बारा कलैया उपमहानगरपालिका– २६ घर भई हाल वीरगन्ज महानगरपालिका– १३ मुर्लीमा बस्दै आएकी साहले वीरगन्जमा हैजा सङ्क्रमण फैलिएको र आफ्नो परिवारजन अस्पतालमा भर्ना भएको तर मन्त्री यादवले हैजा नियन्त्रणका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै टेलिफोनबाट गालीगलौज गरेकी थिइन् ।
मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा घटनापछि पर्सा प्रहरीले शनिबार साहलाई नियन्त्रणमा लिएको थियो । साहविरुद्ध साइबर क्राइम, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाएको गरी तीन कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दुई पटक अनुसन्धानका लागि भन्दै तीन–तीन दिनको म्याद लिइको थियो ।
