पूर्ववडाध्यक्ष ठगी आरोपमा पक्राउ 

मण्डलले साहसँग आफूले ३० लाख रुपैयाँ लिएको र त्यसबापत ३० लाखको चेक तथा जग्गा धरौटीमा दिएको जाहेरीमा उल्लेख गरेकी छिन् ।

भाद्र १८, २०८२

विनय आजाद

Former ward president arrested on fraud charges

सिरहा — सिरहा नगरपालिका-७ का पूर्ववडाध्यक्ष उपेन्द्र साह ठगी गरेको आरोपमा पक्राउ परेका छन् । प्रहरीले उनलाई गत १५ गते नै पक्राउ गरेको हो ।

उनीमाथि सिरहा-३ की शोभा मण्डलले ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । मण्डलले साहसँग आफूले ३० लाख रुपैयाँ लिएको र त्यसबापत ३० लाखको चेक तथा जग्गा धरौटीमा दिएको जाहेरीमा उल्लेख गरेकी छिन् ।

साहले केही समयपछि थाहै नदिई आफ्नो बैंक खाता कालोसूचीमा राख्न लगाइदिएको र कालो सूचीबाट हटाइदिने सर्तमा हरहिसाब गरेर ३५ लाख रुपैयाँ भएकोमा तत्काल १० लाख र २५ लाख रुपैयाँको चेक दिएको उल्लेख गरेकी छन् । तर, साहले खाता कालोसूचीबाट हटाउनुको साटो यसअघि दिएको ३० लाखको चेक र पछिल्लोपल्ट दिएको २५ लाखको चेकसहित उल्टै अदालतमा मुद्दा हालेर आफ्नो जग्गा हत्याउन खोजेको आरोप मण्डलको छ ।

साहलाई हिरासतमा राखी सिरहा जिल्ला अदालतबाट म्याद लिएर विस्तृत अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully