महोत्तरीको सीमा क्षेत्रमा बाँध बनाउँदै भारत

मरहा नदीमा भारतीय पक्षले नेपाली बस्ती र भूभाग डुबान हुने गरी बाँध बनाउने प्रक्रिया अगाडि बढाएको हो ।

भाद्र १७, २०८२

सन्तोष सिंह

India is building a dam in the border area of ​​Mahottari

What you should know

महोत्तरी — नेपाली बस्ती डुबान हुनेगरी भारतीय पक्षले नदीको मुहान थुन्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल–भारत सिमानाअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुर हुँदै बग्ने मरहा नदीमा भारतीय पक्षले नेपाली बस्ती र भूभाग डुबान हुने गरी बाँध बनाउने प्रक्रिया अगाडि बढाएको हो ।

रघुनाथपुरसँग जोडिएको भारत सीतामढी जिल्ला कन्हमा ग्राम पञ्चायत–८ भगवतीपुरस्थित मरहा नदीमा आउने बाढीको पानी थुनेर भारतीय पक्षले धान सिँचाइ गर्न दशगजा क्षेत्रमा २ किलोमिटर कुलो बनाउने प्रक्रियासमेत अगाडि बढाएको हो । नेपाली पक्षको अवरोधका बाबजुद भारत कन्हमाका सरपञ्च गिरेन्द्रकुमार सिंहको नेतृत्वमा स्थानीयहरूले डोजर, ट्याक्टर, कोदालो लिएर बाँध राख्न आउने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

India is building a dam in the border area of ​​Mahottariनेपालबाट बगेर जाने मरहा नदी थुन्न १० फिटभन्दा अग्लो बाँध बनाएर दशगजा क्षेत्रमै कुलो बनाएर पानी कन्हमातर्फ लग्ने प्रक्रिया भारतीय पक्षले अगाडि बढाएको हो । बाँध निर्माणमा नेपाली पक्षले अवरोध गरेपछि भारतीय अधिकारीहरू सीमा क्षेत्रमा कुलो बनाउन सोमबार नापजाँच गरी फर्केका छन् ।

भारततर्फका सीओ मोनी कुमारीको नेतृत्वमा आएका  कर्मचारी र सुरक्षा निकायले सोमबार मरहा नदीमा बाँध बाँधेर पूर्वतर्फ दशगजाबाटै कुलो बनाउने र बाँध राख्ने स्थानमा नापजाँच गरेको सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले जनाएको छ ।

भारततर्फका अधिकारी र स्थानीय आएर दशगजा क्षेत्रमा डोजर लगाएर बाँध बनाउन खोजेको र अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै पनि कार्य गर्न नमिल्ने भन्दै रोक लगाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

India is building a dam in the border area of ​​Mahottari‘एक साता अगाडिदेखि नै बाँध बनाउन खोजिएको हो,’  प्रजिअ रिसालले भने,‘जानकारी आउनासाथ भारतीय पक्षलाई सचेत गरायौँ । बाँध निर्माणले नेपाली भूभाग डुबानमा पर्ने भएकोले हामीले कुनै पनि गतिविधि नगर्न भनेका छौँ ।’  प्रजिअ रिसालले भारतीय पक्ष सीमा क्षेत्रमा बाँध नबनाउन सहमत भएको बताए । विगतमा भारतले सीमा क्षेत्रमा बाँध बनाउँदा सशस्त्र प्रहरीको बीओपी, रघुनाथपुर गाउँआसपासको भूभागमा बाढी बसेर क्षति गरेको थियो ।

सन्तोष सिंह सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully