जलेश्वरको खैरा चोकस्थित जसपा नेपालको पार्टी कार्यालयबाट सुरु भएको र्याली नगरपालिका चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
What you should know
महोत्तरी — जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयक फिर्ताको माग गर्दै जलेश्वरमा प्रदर्शन गरेको छ । चुरे र जंगल मासेर मधेशलाई मरुभूमि बनाउने व्यवस्था भएको विधेयक फिर्ताको माग गर्दै जसपाका नेता कार्यकर्ताहरुले सरकारविरुद्ध आइतबार प्रर्दशन गरेका हुन् ।
जलेश्वरको खैरा चोकस्थित जसपा नेपालको पार्टी कार्यालयबाट सुरु भएको र्याली नगरपालिका चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै जसपा नेपालका महासचिव रामकुमार शर्माले ओली नेतृत्वको सरकार अलोकतान्त्रिक रहेको र भूमि विधेयक ल्याएर सरकारले मधेशलाई मरुभूमिकरण गर्न खोजेको आरोप लगाए ।
'संविधान संशोधन, सुशासन कायम, बेरोजगारी समस्या समाधान गर्ने प्रतिबद्धता गरी बनेको एमाले–कांग्रेस गठबन्धनको सरकारले प्रतिबद्धताबाट पछाडि हटेर मधेशविरोधी विधेयक ल्याएर मधेशको अस्तित्व समाप्त गर्न लागीपरेको छ,' महासचिव शर्माले भने,‘केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको भूमिसम्बन्धी विधेयकले चुरे र वन फँडानी गरी भूमाफियालाई जिम्मा लगाउने तयारी गरेको छ ।’ पर्यावरण विरोधि विधेयक ल्याएर सरकारले मधेश र मधेसीको अस्तित्व समाप्त पार्न खोजेको समेत उनको आरोप छ ।
यस्तै जसपा नेपालकी कोषाध्यक्ष एवं प्रदेश सांसद सुरिता साहले मधेशविरोधी सरकारले संघीयता समाप्त गरी मधेसीलाई अल्पमतमा पार्न भूमिसम्बन्धी विधेयक ल्याएको आरोप लगाए । जसपाका नेताहरु सुरेन्द्र यादव, हरिनारायण यादवलगायतले भूमि विधेयक मधेश र मधेशीको भवनाविपरीत रहेकोले स्वीकार्न नसकिने बताए ।
नेताहरुले विधेयकमा समर्थन नगरेकै कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनामा षड्यन्त्रपूर्वक फसाउन सरकार लागीपरेको समेत आरोप लगाएका छन् ।
