जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितकाअनुसार सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा९०प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
बारा — पथलैया–वीरगन्ज त्रिभुवन राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२ पानीट्यांकी नजिक दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा आइतबार दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितकाअनुसार सिमराबाट पथलैयातर्फ जाँदै गरेको बा९०प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । दुवै मोटरसाइकलका चालकले नियन्त्रण गुमाएपछि सप्तरी बसवलपुर नगरपालिका-७ का २८ वर्षीय महेश पण्डितको टाउको र बायाँ खुट्टामा गम्भीर चोट लागेको थियो । उनको परवानीपुर गाउँपालिकाको लौतनस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनले बागमती प्रदेश ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल चलाएका थिए ।
यसैगरी बा९०प ६७९४ नम्बरको मोटरसाइकल चालक रौटहत गुजरा गाउँपालिका-७ परसवाका २५ वर्षीय रोशन चौधरीको टाउको र दुवै खुट्टामा चोट लाग्दा घाइते भएका उनको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएकोप्रहरी नायब उपरीक्षक पण्डितले बताए । मृतक चौधरीले चलाएको मोटरसाइकल पछाडि बसेका सोही ठाउँका ३४ वर्षीय भूपेन्द्र चौधरीको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए ।
